एजेन्सी । दक्षिणी लेबनानमा जारी द्वन्द्व अन्त्य गर्ने उद्देश्यले लेबनान र इजरायलका राजदूतहरूबीच आज अमेरिकाको राजधानी वासिङ्टनमा महत्वपूर्ण भेटवार्ता हुँदैछ ।
बीबीसीका अनुसार हुने उक्त छलफलमा मार्को रुबियो पनि सहभागी हुनेछन्। अमेरिकाका लागि इजरायली राजदूत येचिएल लेटर र लेबननी राजदूत नादा हमादेह मोआदबीच अमेरिकी विदेश मन्त्रालयमा प्रत्यक्ष वार्ता हुने तय भएको छ।
वार्ताको मुख्य उद्देश्य दक्षिणी लेबननमा जारी हिंसात्मक द्वन्द्वलाई अन्त्य गर्नु रहेको जनाइएको छ। लेबनन स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म इजरायली आक्रमणमा २ हजारभन्दा बढी मानिसको ज्यान गएको छ भने ६ हजार ५०० भन्दा बढी घाइते भएका छन्। साथै लाखौँ नागरिक विस्थापित भएका छन्।
यता, हेज्बुल्लाहका नेता नैम कासेमले सोमबार प्रस्तावित वार्ता रद्द गर्न लेबनन सरकारलाई आह्वान गरेका छन्। हेज्बुल्लाहले इजरायलसँग प्रत्यक्ष वार्तामा सहभागी हुन अस्वीकार गर्दै आएको छ, जसले शान्ति प्रयासलाई थप जटिल बनाएको छ।
गत फेब्रुअरी २८ मा अमेरिका र इजरायलले इरानमा संयुक्त हमला गरेपछि क्षेत्रीय तनाव चर्किएको थियो। त्यसपछि इरान समर्थित हेज्बुल्लाहले बदला स्वरूप इजरायलमा आक्रमण सुरु गरेपछि द्वन्द्व फैलिएको हो।
यद्यपि अमेरिका र इरानबीच दुई साताका लागि युद्धविराम लागू भएको घोषणा गरिएको छ, इजरायलले भने लेबनानमा आक्रमण जारी राखेको छ।