काठमाडौं । अधिकांश वाणिज्य बैंकहरूले बैशाख महिनाका लागि ब्याजदर घटाएका छन् ।
गत चैतको तुलनामा कुल २० वटा वाणिज्य बैंकमध्ये १० बैंकको ब्याजदर भने स्थिर छ ।
एउटा बैंकले भने ब्याजदर बढाएको छ । अधिकांशले ब्याजदर स्थिर राखे पनि केहीले घटाएसँगै औसतमा ब्याजदर घटेको हो ।
ब्याजदर घटाउने बैंकहरूमा स्ट्यान्डर्ड चार्टर्ड बैंक, सिटिजन्स बैंक, हिमालयन बैंक, नबिल बैंक, सिद्धार्थ बैंक, एभरेस्ट बैंक, कुमारी बैंक, एनआईसी एसिया बैंक र राष्ट्रिय वाणिज्य बैंक छन् ।
यस्तै, ब्याजदर स्थिर राख्ने बैंकहरूमा नेपाल इन्भेस्टमेन्ट मेगा बैंक, माछापुच्छ्रे बैंक, नेपाल एसबीआई बैंक, लक्ष्मी सनराइज बैंक, प्राइम कमर्सियल बैंक, नेपाल बैंक, ग्लोबल आईएमई बैंक, सानिमा बैंक, प्रभु बैंक र एनएमबि बैंक रहेका छन् ।
सिद्धार्थ बैंक तथा एनआईशी एसिया बैंकले मुद्दतीतर्फ व्यक्तिगत र संस्थागत दुवैतर्फ अधिकतम ब्याजदरलाई ०.२५ प्रतिशत विन्दुले तल झार्दा हिमालयन बैंकले क्रमशः ०.५० र ०.२५ प्रतिशत विन्दुले तल झारेको छ । अन्य बैंकले व्यक्तिगत निक्षेपतर्फको ब्याजदर घटाएका छन् । नबिल बैंकले भने संस्थागत निक्षेपको ब्याज मात्रै घटाएको छ ।
व्यक्तिगततर्फ सिटिजन्स बैंकले ०.३५ प्रतिशत, राष्ट्रिय वाणिज्य बैंकले ०.२५, एभरेस्ट बैंकले ०.२०, कुमारी बैंकले ०.०७, स्ट्यान्डर्ड चार्टर्ड बैंकले ०.०१ प्रतिशत विन्दुले घटाउँदा नबिल बैंकले संस्थागततर्फ ०.५४ प्रतिशत विन्दुले ब्याजदर घटाएको छ।
यसपटक ब्याजदर बढाउने एकमात्र बैंक कृषि विकास बैंक रहेको छ । सो बैंकले साधारण बचत खातादेखि संस्थागत मुद्दती निक्षेपसम्मको ब्याजदरमा ०।०३ प्रतिशत विन्दुले वृद्धि गरेको छ ।
बैंकहरूमा लगानीयोग्य रकम पर्याप्त रहेको तथा कर्जा प्रवाह हुन नसक्दा ब्याजदर घटिरहेको हो ।
