काठमाडौं । फागुन २१ गते भएको प्रतिनिधिसभा निर्वाचनबाट निर्वाचित सांसदलाई सङ्घीय संसद् सचिवालयले जेठ १० गतेभित्र आफ्नो सम्पत्ति विवरण बुझाउन निर्देशन दिएको छ ।
भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ५० को उपदफा (१) र अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन २०४८ को दफा ३१ क को उपदफा (१) मा सार्वजनिक पद धारण गरेको व्यक्तिले सम्पति विवरण बुझाउनुपर्ने व्यवस्था छ ।
दुवै ऐनमा सार्वजनिक पद धारण गरेको मितिले ६० दिनभित्र आफ्नो र आफ्नो परिवारको नाममा रहेको सम्पत्तिको स्रोत वा निस्सा सहितको अद्यावधिक सम्पत्ति विवरण तोकिएको निकाय वा अधिकारी समक्ष पेश गर्नुपर्ने व्यवस्था छ ।
यसै कानुनी दायित्वलाई कार्यान्वयनमा ल्याउन संसद सचिवालयले समयसीमा तोक्दै सांसदहरूलाई आवश्यक प्रक्रिया पूरा गर्न आग्रह गरेको जनाएको छ।
नवनिर्वाचित सांसदहरूले चैत १२ गते पद तथा गोपनीयताको शपथ लिएका थिए । त्यसैअनुसार ६० दिन जेठ १० गते पुग्ने भएकाले त्यो समयभित्र नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूले आफ्नो सम्पति विवरण बुझाउनुपर्ने छ ।