काठमाडौं। काठमाडौं उपत्यकामा सोमबार साँझ हावाहुरीसँगै वर्षा भएको छ।
उपत्यकामा मेघगर्जन सहित पानी पर्न थालेको जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
मौसम पूर्वानुमान महाशाखाको सोमबार साँझ जारी बुलेटिनअनुसार अहिले नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव छ।
यसैगरी महाशाखाले कोसी, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशको पहाडी र हिमाली भूभागका थोरै स्थानमा हल्का वर्षा र हिमपातको भइरहेको पनि जनाएको छ।
आइतबार गण्डकी प्रदेशका विभिन्न जिल्लाहरुमा पनि हावाहुरी र चट्याङसहितको वर्षा भएको थियो ।
यो हप्ताभरि नै देशका अधिकांश जिल्लामा हल्का वर्षाको सम्भावना रहेको विभागको पूर्वानुमान छ।
पछिल्लो केही दिनदेखि उपत्यकामा वायु प्रदूषण बढेको थियो। हावाहुरी र वर्षा भएसँगै काठमाडौं उपत्यकाको प्रदूषण घट्ने अनुमान गरिएको छ।