काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को आगामी कार्यकाल (२०२६–०२८) का लागि वर्तमान उपाध्यक्ष रामशरण सिम्खडाले महासचिव पदमा आफ्नो औपचारिक उम्मेदवारी घोषणा गरेका छन् ।
मंगलबार राति भर्चुअल माध्यमबाट आयोजित एक विशेष कार्यक्रमका बीच सिम्खडाले आफ्नो विस्तृत संकल्प पत्र सार्वजनिक गर्दै उम्मेदवारी घोषणा गरेका हुन्
सो क्रममा सिम्खडाले चोटिएको एनआरएनएलाई एकताबद्ध बनाउने उद्देश्यका साथ आफू मैदानमा आएको बताएका छन् ।
संस्थाभित्र देखिएको असमञ्जस्यता र फुटलाई अन्त्य गरी एउटै र साझा एनआरएनए बनाउने आफ्नो मुख्य संकल्प रहेको उनको भनाइ छ । झण्डै दुई दशकदेखि अभियानमा सक्रिय सिम्खडाले संस्थाको प्रशासनिक मेरुदण्ड मानिने महासचिव पदमार्फत एनआरएनएलाई पारदर्शी, प्रविधिमैत्री र सदस्य–केन्द्रित बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।
सिम्खडाले निर्वाचित भएको तीन महिनाभित्र दीर्घकालीन रणनीतिक कार्ययोजना तयार गर्ने, काठमाडौं सचिवालयलाई बढी अधिकारसम्पन्न र जिम्मेवार बनाउने तथा निर्वाचन अघिको ६० दिन बाहेक बाँकी २२ महिना नै सदस्यता खुल्ला राख्ने नीति लिने, राष्ट्रिय समन्वय परिषद् ९एनसीसी० हरूलाई थप सशक्त बनाउन उनले उत्कृष्ट कार्य गर्ने तीन एनसीसीहरूलाई क्रमशः ७ हजार, ५ हजार र ३ हजार डलरसहित पुरस्कृत गर्न अक्षयकोष स्थापना गर्ने, प्रविधिलाई प्राथमिकता दिँदै ‘स्मार्ट एनआरएन एप’ लाई थप सुरक्षित र सदस्य–मैत्री बनाउने तथा अन्तर्राष्ट्रिय दातृ निकायहरूसँगको सहकार्यमा परोपकारी कार्यहरूलाई अघि बढाउने उनको संकल्प पत्रमा उल्लेख छ ।
साथैसबैले नेतृत्व छनोटमा सहभागी हुन पाउने गरी ‘इलेक्टोरल सिस्टम’ लाई विधानमा समावेश गर्ने र राजनीतिक हस्तक्षेप अन्त्यका लागि एनआरएन ऐन संशोधनमा पहल गर्ने उनले प्रतिज्ञा गरेका छन् ।
सिम्खडा एनआरएनए यूकेको संस्थापक सदस्य (२००५–०७) देखि महासचिव र सल्लाहकार हुँदै आईसीसी सदस्य, उपमहासचिव र हाल उपाध्यक्ष एवं एनआरएन कल्याण विभाग प्रमुखका रूपमा कार्यरत छन् ।