काठमाडौं । प्रधान सेनापति अशोकराज सिग्देलले अन्य सुरक्षा निकाय तथा सरोकारवाला निकायसँग प्रभावकारी समन्वय गर्दै आसन्न निर्वाचनलाई सुरक्षित र व्यवस्थित रूपमा सम्पन्न गर्न निर्देशन दिएका छन् ।
जंगी अड्डामा सञ्चालित पृतनापति समन्वयात्मक बैठकको समापन सत्रलाई बुधबार सम्बोधन गर्दै प्रधान सेनापति सिग्देलले एकीकृत सुरक्षा योजना–२०८२ अनुसार समन्वयात्मक ढंगले निर्वाचन सुरक्षामा परिचालित हुन निर्देशन दिएका हुन् ।
सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार प्रधान सेनापति सिग्देलले सकलदर्जाका सैनिकहरूलाई सामूहिक भावना, अनुशासन र एकढिक्कापन कायम राख्दै जिम्मेवारीमा खटिन निर्देशन दिएका छन् । साथै पृतनास्तरमा भएका प्रभावकारी कार्यका लागि उनले पृतनापतिहरूलाई धन्यवादसमेत व्यक्त गरे ।
निर्देशनालयका अनुसार बैठकमा वर्तमान परिस्थितिको विश्लेषण, तालिमहरूको समीक्षा, बन्दोबस्ती व्यवस्थापन तथा अन्य समसामयिक विषयमा विस्तृत छलफल गरिएको थियो ।