रुकुम पूर्व । प्रगतिशील लोकतान्त्रिक पार्टीका उम्मेदवार सन्दीप पुनलाई सहयोग गरेको आरोपमा अखिल क्रान्तिकारीका दुई जिम्मेवार नेतामाथि कारबाही गरिएको छ।
कारबाहीमा पर्नेमा अखिल (क्रान्तिकारी)रुकुम पूर्व इन्चार्ज विकाश खड्का र लुम्बिनी प्रदेश सचिव सोहेल श्रेष्ठ रहेका छन्।
कारबाहीपछि प्रतिक्रिया दिँदै अखिल क्रान्तिकारी रुकुम पूर्वका इन्चार्ज विकास खड्काले दशवर्षे जनयुद्धको ऐतिहासिक विरासत बोकेको रुकुम पूर्वमा सहिद सन्तती सन्दीप पुनविरुद्ध जनयुद्धका सर्वोच्च कमाण्डर पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वयं चुनावी मैदानमा उत्रिनु नैतिक रूपमा उपयुक्त नदेखिने बताएका छन्।
उनले जेनजी आन्दोलनको मूल एजेन्डा नै रूपान्तरण रहेको उल्लेख गर्दै सन्दीप पुनको उम्मेदवारी त्यस रूपान्तरणको महत्वपूर्ण कोसेढुंगा बन्न सक्ने दाबी गरे।
‘रूपान्तरणकै पक्षमा उभिनु आजको आवश्यकता हो। त्यसैले म मात्र होइन, प्रत्यक्ष तथा अप्रत्यक्षरुपमा जिल्लाको सिङ्गो युवा–विद्यार्थी साथी, स्ववियुका पधाधिकारिहरू सन्दीप पुनको पक्षमा उभिएका छौं ।’–खड्काले भने ।
शान्ति प्रक्रियापछि प्रचण्ड सत्ताको खेलमै अल्झिए बताउँदै उनले भने–‘पार्टी र आन्दोलनको मर्म बिर्सिए। यही भुलका कारण माओवादी आन्दोलन दिशाहीन बन्दै गयो। अब आवश्यकता छ । प्रचण्डलाई कम्तीमा पाँच वर्ष सदन बाहिर राख्दै माओवादी आन्दोलनलाई पुनः सडक, संगठन र जनतामा फर्काउने।’
‘माओवादी आन्दोलनलाई एकीकृत गर्दै जनयुद्धको विरासत बोकेका सबै धार र घटकलाई एकढिक्का बनाउने ऐतिहासिक घडी यही हो। त्यसका लागि जनयुद्धको मूल्य, बलिदान र सपनाको साँचो प्रतिनिधि सन्दीप पुनलाई जिताउन सम्पूर्ण पूर्व(माओवादी धार एकताबद्ध भएर लाग्नु आजको अपरिहार्य आवश्यकता हो।’–खड्काले थप भने ।
सन्दीप पुन स्वयं अखिल (क्रान्तिकारी)का निर्वाचित उपाध्यक्ष हुन्। हाल उनी प्रगतिशील लोकतान्त्रिक पार्टीका केन्द्रीय सदस्य तथा प्रगतिशील विद्यार्थी संगठनका संयोजकको जिम्मेवारीमा रहेका छन्।
नेकपा (माओवादी केन्द्र), नेकपा समाजवादीलगायत २२ घटक सम्मिलित गठबन्धनमा सामेल नहुने निर्णय गर्दै सन्दीप पुन प्रगतिशील लोकतान्त्रिक पार्टीबाट उम्मेदवार बनेका हुन्।
पछिल्लो राजनीतिक घटनाक्रमले रुकुम पूर्वमा नेपाली कम्युनिष्ट पार्टीका संयोजक प्रचण्ड र सन्दीप पुनबीच कडा प्रतिस्पर्धा हुने संकेत देखिएको छ ।
प्रचण्डलाई शहीदपुत्र सन्दीपको चुनौती
जनयुद्धको ऐतिहासिक आधारभूमि मानिने यस क्षेत्रबाट पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिष्ट पार्टीका प्रचण्ड उम्मेदवार बनेपछि यहाँको प्रतिस्पर्धाले देशव्यापी चासो बढाएको हो ।
रुकुम पूर्वमा एउटा मात्र निर्वाचन क्षेत्र छ । पुथा उत्तरगंगा गाउँपालिकाका १४ वडा, भूमे गाउँपालिकाका नौ वडा र सिस्ने गाउँपालिकाका आठ वडा समेटिएको यस क्षेत्रमा ३४ हजार ७७२ मतदाता छन् । ५६ मतदान केन्द्र तोकिएका छन् ।
२०७९ सालको निर्वाचनमा तत्कालीन माओवादी केन्द्रका पूर्णबहादुर घर्ती मगर १२ हजार २६२ मतसहित विजयी भएको उक्त स्थानमा अहिले प्रचण्ड उम्मेदवार बनेका हुन् ।
२०७९ मा पाँच दलीय गठबन्धनको समर्थन पाएका एमालेका उम्मेदवार कैलाशकुमार मल्लले जम्मा पाँच हजार २११ मत पाएका थिए । यसले पनि त्यहाँ माओवादी बलियो रहेको पुष्टि हुन्छ ।
तर, यसपटक भने परिस्थिति फरक छ । रुकुम पूर्वमा दल र स्वतन्त्र गरी ११ जना उम्मेदवार चुनावी मैदानमा छन् । प्रचण्ड स्वयं उम्मेदवार बनेका कारण चार्चा अलि बढी नै छ । सिराहा, काठमाडौं, चितवन र गोरखापछि प्रचण्ड रुकुम पूर्वबाट उम्मेदवार बनेका छन् ।
नेपाली कांग्रेसबाट कुसुम देवी थापा, नेकपा एमालेबाट लीलामणि गौतम, राष्ट्रिय स्वतन्त्र पार्टीबाट लखनकुमार थापा र प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) बाट सन्दीप पुन उम्मेदवार छन् ।
सन्दीप पुन द्वन्द्वकालीन माओवादी नेता सूर्यप्रकाश पुन ‘सुन्दर’ र परम्परा गौतम ‘वृक्षा’का पुत्र हुन् । दुवैले जनयुद्धका क्रममा सहादत प्राप्त गरेका थिए । शहीदपुत्रका रूपमा सन्दीपको उम्मेदवारीलाई भावनात्मक र प्रतीकात्मक रूपमा हेरिएको छ । पुन आफू बाआमाको राजनीतिक विरासत बोकेर मैदानमा उत्रिएको बताइरहेका छन् ।
जनयुद्धको आधारभूमि मानिने रुकुममै शहीदपुत्र चुनावी मैदानमा उत्रनु आफैमा अर्थपूर्ण मानिएको छ । स्थानीय तहमा सुन्दर र वृक्षाको नाम अझै पनि सम्मानका साथ स्मरण गरिन्छ । त्यही भावनात्मक पृष्ठभूमिलाई लिएर सन्दीपले आफू बाआमाको अपूर्ण सपना पूरा गर्न राजनीतिमा आएको बताइरहेका छन् ।
युवाहरु पनिे जेनजी आन्दोलनको मर्म अनुसार नै पुनको उम्मेदवारी आएको बताइरहेका छन् । यस्तो अवस्थामा प्रचण्डमाििथ थप चुनौति देखिएको छ ।