काठमाडौं । चुनावी अभियानमा ढलेका पत्रकार दिनेश सिटौलाको उपचारका क्रममा निधन भएको छ।
काठमाडौंको ग्राण्डी अस्पतालले उनलाई चिकित्सकले आजदिउँसो १२:४५ बजे मृत घोषणा गरेको हो।
रास्वपाका वरिष्ठ नेता बालेन शाहसँगै चुनावी अभियानका लागि सुदूरपश्चिमको अछाम पुगेका सिटौला माघ १६ गते बिहान बेहोस भएर ढलेका थिए। बेहोस भएर ढलेपछि सिटौलालाई अछाम जिल्ला अस्पताल लगिएको थियो। जिल्ला अस्पतालमा ४५ मिनेट सीपीआर दिइएको थियो। मुटुको चाल फर्किएपछि कृत्रिम श्वास दिएर उनलाई अछामबाट सेनाको हेलिकप्टरमार्फत टोखास्थित ग्रान्डी इन्टरनेसनल अस्पताल ल्याइएको थियो।
अस्पताल ल्याउँदा नै उनी बेहोस थिए। चिकित्सकका अनुसार होसको अवस्था मापन गर्ने ‘ग्लास्गो कोमा स्केल (जीसीएस)’ सामान्य अवस्थामा १५ जीसीएस हुनुपर्छ। यो न्यूनतम ३ जीसीएसभन्दा तल झर्नुहुँदैन। सिटौलालाई अस्पताल आउँदा नै होसको अवस्था ३ जीसीएस रहेको थियो।
उपचारका क्रममा स्वास्थ्य अवस्थामा सुधार नआएपछि आज उनको निधन भएको अस्पतालले जनाएको छ ।
रास्वपा वरिष्ठ नेता शाहसँगै ४३ वर्षीय सिटौला पनि कैलाली, कञ्चनपुर, डडेल्धुरा, बैतडी, दार्चुला, बझाङ पुगेका थिए। माघ १६ गते बिहान बझाङबाट अछाम जाँदै गर्दा बेहोस भएर लडेका थिए।
बालेन पनि कर्णाली प्रदेशको पूर्वनिर्धारित कार्यक्रमलाई छोट्याएर ग्राण्डी अस्पतालमा उपचाररत सञ्चारकर्मी दिनेश सिटौलालाई भेट्न बालेन हिजो नै काठमाडौं आइपुगेका थिए । अस्पतालमा भर्ना गरिएका सिटौलाको स्वास्थ्य अवस्था गम्भीर रहेकाले प्रत्यक्ष भेट सम्भव नभएपछि साहले उनका भाइ उमेश सिटौलासँग भेटघाट गरेका थिए।
सिटौलाको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गर्ने तयारी गरिएको परिवारजनले जनाएका छन्।
