काठमाडौं । सरकारले आगामी माघ १ गतेदेखि ५ लाख रुपैयाँ वा सोभन्दा बढीको नगद कारोबारमा प्रतिबन्ध लगाउने निर्णय कार्यान्वयनमा लैजाने प्रक्रिया अघि बढाएको छ ।
यसअनुसार नेपाल राष्ट्र बैंकले सबै बैंक तथा वित्तीय संस्थालाई कडाइका साथ निर्देशन जारी गरेको छ। राष्ट्र बैंकले शुक्रबार एक सूचना जारी गर्दै ‘क’, ‘ख’, ‘ग’ र ‘घ’ वर्गका सबै बैंक तथा वित्तीय संस्थाहरूलाई उक्त व्यवस्था अनिवार्य रूपमा लागू गर्न निर्देशन दिएको हो ।
राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागले इजाजतपत्र प्राप्त सबै संस्थालाई पत्राचार गर्दै नेपाल राजपत्रमा प्रकाशित नगद कारोबारसम्बन्धी व्यवस्थाहरू तत्काल कार्यान्वयन गर्न सूचित गरेको जनाएको छ ।
सरकारले सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ) निवारण ऐन, २०६४ ले दिएको अधिकार प्रयोग गर्दै नगद कारोबारको नयाँ सीमा र सर्त तोकेको हो ।
यस निर्णयसँगै अब ठूला नगद कारोबारहरूमा कडा निगरानी हुने र अवैध आर्थिक गतिविधि नियन्त्रणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।