काठमाडौं । जेनजी आन्दोलनका क्रममा टीओबी समूहको गतिविधिबारे नेपाल प्रहरीले विस्तृत अनुसन्धान अगाडि बढाएको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौंले सोमबार पत्रकार सम्मेलन गर्दै समूहका मुख्य व्यक्ति मानिएका तेन्जिन दावा लामा हालसम्म पनि प्रहरी हिरासतमै रहेको र उनीसँग सम्बन्धित प्रमाणहरूको विश्लेषण जारी रहेको जानकारी दिएको हो ।
प्रहरी उपरीक्षक तथा परिसरका प्रवक्ता पवनकुमार भट्टराईका अनुसार, टीओबी समूहले प्रयोग गरेको लोगो स्वयं तेन्जिनले नै डिजाइन गरेको तथ्य खुलेको छ।
भदौ २३ गते दिउँसो बिजुलीबजार क्षेत्रमा मोटरसाइकल पड्काउँदै नारा जुलुस गर्नुका साथै भिडलाई उत्तेजित गर्ने गतिविधि त्यस समूहका सदस्यहरूले गरेको प्रहरीको दाबी छ।
प्रहरीका अनुसार, बयानका क्रममा तेन्जिनले आफूलाई ‘आधा तिब्बतीयन’ भएको उल्लेख गरेका छन्, तर समूहमा सहभागी अन्य सदस्य भने सबै नेपाली मूलका रहेको खुलेको छ।
भिडमा गएर उत्तेजित गर्ने गल्ती गरेको स्वीकारोक्ति तेन्जिनबाट लिखितरूपमै लिइएको प्रवक्ता भट्टराईले बताए।