काठमाडौं । चर्चित कलाकार दीपकराज गिरीले आफू ‘जेनजी आन्दोलन’को समर्थक भए पनि आन्दोलनका क्रममा भएको तोडफोड र आगजनीमा कुनै संलग्नता नभएको स्पष्ट पारेका छन् ।
शुक्रबार सामाजिक सञ्जाल फेसबुकमार्फत वक्तव्य जारी गर्दै गिरीले तोडफोड भइरहेको घरको बाटो हुँदै गएको एउटा तस्बिरका आधारमा आफूमाथि गलत कथा बुनेको बताएका छन् ।
उनका अनुसार सो दिन उनी बानेश्वरमा आयोजित सर्वपक्षीय भेलामा सहभागी हुन गइरहेका बेला बाटोमा सामान्य तोडफोड भइरहेको घर परेको थियो।
'गणेश कार्की भाइले फोन गरेर ‘बानेश्वरमा सानो भेला छ, कलाकारको रूपमा तपाईंहरू पनि आउनुहोस्’ भन्नुभयो,' गिरीले लेखेका छन्, 'त्यसपछि म घरबाट हिँडेँ। बाटोमा एउटा घरमा सामान्य तोडफोड भइसकेको रहेछ। कसको घर हो भन्ने पनि थाहा थिएन।'
गिरीका भनाइमा, त्यहाँ उपस्थित केही रमिते युवाहरूले उनलाई देखेर हात हल्लाएका र फोटो खिचेका मात्र हुन् ।
'भएको त्यति नै थियो,' उनले लेखेका छन्, 'तर अहिले त्यो बाटोमा हिँडिरहेको मेरो फोटो हालेर आफ्नै शैलीमा कथा बुनेछन्।'
गिरीले तोडफोड र आगजनी व्यापक भएपछि आफूले तत्कालै ‘तोडफोड नगरौँ, राष्ट्रको सम्पत्ति जोगाऔँ’ भन्ने सन्देशसहित भिडियो सार्वजनिक गरेको र निरन्तर सोही सन्देश फेसबुकमा पोस्ट गरिरहेको पनि स्मरण गराए।
उनले आन्दोलनका नाममा भइरहेको तोडफोडमा दलहरू र विभिन्न स्वार्थ समूहहरू घुसेको प्रमाणित भइसकेको दाबी गर्दै भने 'यदि तोडफोडमा मेरो सहभागिता प्रमाणित भयो भने हदैसम्मको कानुनी कारबाही भोग्न तयार छु ।'