काठमाडौं । अभिनेता तथा फिल्म निर्माता दीपकराज गिरीले हालैको जेनजी आन्दोलनपछि प्रहरी संगठनको मनोबल उच्च राख्नुपर्नेमा जोड दिएका छन् ।
शनिबार राति गिरीले सामाजिक सञ्जालमार्फत आफ्नो अनुभव सुनाउँदै प्रहरी सेवाको कठिनाइ स्मरण गरे । '२०४८ सालतिर म पनि प्रहरीमा भर्ना भएको थिएँ, तर तालिम सुरु भएको केही दिनमै भागें। त्यति गाह्रो रहेछ भन्ने मैले भोगेँ। आजको घटनाक्रमले फेरि महसुस गरायो— प्रहरीको जागिर साँच्चिकै निकै गाह्रो छ,' उनले भने ।
आन्दोलनका क्रममा दुबै पक्षबाट गल्ती भएको स्वीकार गर्दै गिरीले दोषारोपणमा समय नखर्चन आग्रह गरे । 'जलेका सरकारी भवन फेरि बन्छन्, निर्दोषमाथि भएको अन्याय समयले सम्बोधन गर्छ। तर अहिले तुरुन्तै उठाउनुपर्ने कुरा भनेको प्रहरीको मनोबल हो,' उनले लेखेका छन् ।
उनका अनुसार दशैं-तिहारको समयमा प्रहरी नै नागरिकलाई ढुक्कले पर्व मनाउन सक्षम बनाउने शक्ति हो । तर अहिले प्रहरीका भवन, पोशाक, सवारी साधनदेखि मनोबलसम्म प्रभावित भएको भन्दै गिरीले सर्वसाधारणलाई आह्वान गर्दै भने, 'कमसेकम आफ्नो क्षेत्रमा रहेको प्रहरी चौकी पुनःस्थापना गर्न सक्दो सहयोग गरौं। उनीहरूलाई बस्ने बास, आवश्यक सामग्री जोहो गरौं।'
गिरीले विगत सम्झिँदै भने, 'हिजो प्रहरीले हामीलाई भन्यो- नआत्तिनुस, हामी छौं। आज भने हामीले उनीहरूलाई भन्नुपर्छ- ‘तपाईंहरू पनि नआत्तिनुस, हामी छौं।' उनले शनिबार मात्रै जेनजी आन्दोलनको क्रममा क्षतिग्रस्त प्रहरी चौकीको पुननिर्माणको लागि आर्थिक सहयोग प्रदान गरेका छन् ।
आफ्नो जन्मथलो काठमाडौंको थानकोट चेकपोस्टस्थित प्रहरी वृत्त थानकोट पुगेर उनले ५ लाख रुपैयाँ प्रदान गरेका हुन् । डीएसपी एलिजा गिरीलाई दीपकले सहायता प्रदान गरेका थिए ।