काठमाडौं । काठमाडौं महानगरपालिकाविरुद्ध कबाड व्यवसायीहरू तीन दिनदेखि आन्दोलनमा छन् ।
सर्वोच्च अदालतको आदेश विपरित काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाहले कवाड व्यवसायीमाथि ज्यादती गरिरहेको भन्दै उनीहरू तेस्रो दिन पनि आन्दोलनमा उत्रिएका हुन्।
भृकुटीमण्डपबाट शुरु भएको कवाड व्यवसायीको र्याली कमलादीस्थित काठमाडौं महानगरपालिका पुगेको थियो। प्रदर्शनमा करिब २ हजारको सहभागिता रहेको बताइएको छ।
कवाड व्यवसायीहरू महानगरपालिका कार्यालयको सडक अगाडि सडकमै ब्यानर बिछ्याएर धर्नामा बसेका छन्।
महानगरसमक्ष कबाड व्यवसायीले पाँचबुँदे माग राखेका छन् । संविधानले दिएको पेसा व्यवसाय गर्न पाउने अधिकारको ग्यारेन्टी हुनुपर्ने माग उनीहरूको छ ।
यस्तै, महानगरले गुन्डागर्दी शैलीमा आफूहरूमाथि ज्यादती गरिरहेको आरोप उनीहरूको छ ।
महानगरले कबाड व्यवसायीका टहरामाथि डोजर चलाउन थालेपछि लामो समयदेखि विवाद चलिरहेको छ । यसअघि, कबाड व्यवसायीले गृहमन्त्रीलगायत विभिन्न निकायलाई समेत ध्यानाकर्षण पत्र बुझाएका थिए ।
आन्दोलनमा सहभागिहरूले बालेनको गुण्डागर्दी एवं तोडफोड बन्द गर, बालेन तेरो पाराले दुख पायो साराले लगायतका नारा लगाएका छन्।
उनीहरूले आफूहरूको माग पूरा नभएसम्म आन्दोलन जारी रहने जनाएका छन्।