काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको निवेदनमाथि आज सुनुवाइ हुँदैछ।
सहकारी ठगी मुद्दामा पुर्पक्षका लागि कारागारमा रहेका लामिछानेले आफ्नो रिहाइको माग गर्दै दिएको निवेदनमाथि सुनुवाइ हुन् लागेको हो ।
उच्च अदालत तुल्सीपुरको बुटवल इजलासका न्यायाधीश सागर विष्टको इजलासमा उक्त निवेदनको पेसी परेको छ।
रुपन्देही अदालतले रिहा नगरेपछि यही भदौ ९ गते उनले उच्च अदालतमा निवेदन दिएका थिए।
सहकारी ठगी प्रकरणमा रुपन्देही जिल्ला अदालतले एक करोड धरौटीमा रिहा गर्ने आदेश दिएको भए पनि उच्च अदालत तुलसीपुरको बुटवल इजलासले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएपछि लामिछाने जेलमै छन् ।
सर्वोच्च अदालतले गत जेठ ९ मा उच्च अदालतको आदेश सदर गरेसँगै उनी थुनामै रहेका थिए ।
सुप्रिम सहकारी ठगीमा रविसहितका प्रतिवादीलाई १० करोड ९९ लाख ३६ हजार रुपैयाँ सामूहिक बिगो कायम गरेर अभियोग पत्र दायर गरिएको छ। तर रविले त्यसको चार भागमध्ये आफ्नो भागको एक भाग बराबर बिगो दाखिला गरेको कागजात पेस गरेका थिए। जिल्ला अदालत रुपन्देहीमा पनि बिगो बमोजिम दुई करोड ७४ लाख ८४ हजार रुपैयाँ धरौटी बैंक ग्यारेन्टीमार्फत बुझाउने प्रस्ताव गर्दै थुनामुक्त गराउन निवेदन दिएका थिए ।
तर, जिल्ला अदालतले सर्वोच्च अदालतले दिएको आदेश उल्टाउन नसक्ने र प्रतिवादीको बिगो छुट्याइएको अवस्था नरहेकाले माग बमोजिम आदेश जारी गर्न नसक्ने भन्दै उनको निवेदन खारेज गरेको थियो ।
रवि हाल ललितपुरको नख्खु कारागारमा छन्।