Jun 10 2026 | २०८३, जेठ २७ गते

10 Jun 2026 | बुधवार, जेठ २७ गते २०८३

बुधवार, जेठ २७ गते २०८३
images
images

‘हाइ पर्फमेन्स सेन्टर’ र ‘स्पोर्ट्स साइन्स रिसर्च सेन्टर’को उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले दिए खेलकुद मन्त्रीलाई यस्तो चेतावनी

‘हाइ पर्फमेन्स सेन्टर’ र ‘स्पोर्ट्स साइन्स रिसर्च सेन्टर’को उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले दिए खेलकुद मन्त्रीलाई यस्तो चेतावनी

बिहिवार , आषाढ २६, २०८२

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ललितपुरको सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा निर्मित नेसनल हाइ पर्फमेन्स सेन्टर तथा नेसनल स्पोर्ट्स साइन्स रिसर्च सेन्टरको उद्घाटन गरेका छन् ।

७ हजार ५ सय ७८ स्क्वायर फिट क्षेत्रफलमा निर्माण गरिएको सेन्टर हलमा १०० जनासम्म खेलाडीले एकैपटक प्रशिक्षण गर्न सक्ने छन्।

साथै, ४ हजार ९६ स्क्वायर फिट क्षेत्रफलमा जिम हलसमेत रहेको छ ।

केन्द्रमा पुरुष र महिलाका लागि छुट्टाछुट्टै चेनजिङ रुम, बाथरुम, लकर रुम, अफिस रुम, भण्डारण कक्ष, थेरापी रुम, स्टिम रुम, सुविधा सम्पन्न शौचालय लगायतका पूर्वाधार छन् ।

त्यसैगरी, ट्रेडमिल, इलिप्टिकल, इन्डोर बाइक, स्क्वाट स्टेन्ड, लेग प्रेस, स्मिथ मसिन, फङ्सनल ट्रेनिङ सिस्टम, डम्बेल स्टेन्ड, बारबेल र्‍याकजस्ता अत्याधुनिक ३० भन्दा बढी जिम उपकरणहरू पनि जडान गरिएका छन् ।

खेलाडीको शारीरिक क्षमता र संरचनाबारे अध्ययन गर्न राखेपले नेसनल स्पोर्ट्स साइन्स रिसर्च सेन्टर स्थापना गरेको जनाएको छ ।

त्यसैगरी आधुनिक प्रविधिको प्रयोग गरी प्रशिक्षण प्रभावकारी बनाउने उद्देश्यले सेन्टर बनाइएको पनि राखेपले जनाएको छ ।

उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीलाई लक्षित गर्दै खेलकुद क्षेत्रमा राजनीति नगर्न आग्रह गरे ।

नेपाल प्रिमियर लिग (एनपीएल) लाई लिएर राष्ट्रिय खेलकुद परिषद् (राखेप० र नेपाल क्रिकेट संघ (क्यान)बीच विवाद चलिरहेका बेला प्रधानमन्त्रीबाट यस्तो अभिव्यक्ति आएको हो ।

एनपीएलको हिसाबकिताबका सबालमा दुई निकायबीच भइरहेको विवादबीच प्रधानमन्त्री ओलीले मन्त्री चौधरीलाई खेलकुदको विकासमा लाग्न निर्देशन दिएका हुन्।

प्रधानमन्त्री ओलीले भने–‘सरकारमा राजनीतिक दल नै आउने हो। सरकारमा आएपछि जुन क्षेत्रको काम छ, त्यसको विकास गर्ने हो। कृषि हो भने कृषिको विकास हुनुपर्‍यो, उद्योग हो भने उद्योगको विकास हुनुपर्‍यो। त्यहाँ राजनीतिक गर्नुभएन । खेलमा हो भने खेलको विकास गर्नुपर्छ। खेललाई अगाडि लैजानुपर्छ। त्यहाँ ‘पोलिटिक्स’ गर्ने होइन। पोलिटिक्सका लागि ‘देयर इज नो स्पेस’। जो आउँछ, उसले पोलिटिक्स गर्ने होइन खेलमा ध्यान दिनुपर्‍यो।’

मन्त्री चौधरीले एनपीएलको विवादको अनुसन्धान गर्न आफू निकट राखेप सदस्य रञ्जना प्रधानको संयोजकत्वमा कार्यदल गठन गरेका छनन् ।

सोही कार्यदलले अख्तियारले छानबिन पूरा नगरेसम्म एनपीएलको काम रोक्न निर्देशन दिएको थियो। त्यसमा पनि प्रधानमन्त्री ओलीले आपत्ति जनाए। उनले उल्टै क्यानलाई एनपीएलको तयारी गर्न निर्देशन दिए।

एनपीएलको भब्य तयारी हुनुपर्ने बताउँदै प्रधानमन्त्री ओलीले भने–‘एनपीएलको भब्य तयारी गर्नुस्। यो हाम्रो नेशनल प्राइड हो। यसलाई राष्ट्रिय स्तरमा बढाउनुपर्छ। जसरी क्रिकेटको क्रेज बढेको छ। देशमा त्यसरी नै एनपीएललाई अगाडि लैजानुपर्छ। यसको आयोजना गर्नुस्। यो खेलिनुपर्छ ।’

प्रधानमन्त्री ओलीले कर्णाली प्रदेशमा हुने भनिएको राष्ट्रिय खेलकुद पटक–पटक सारिएकोमा आपत्ति जनाए।

उनले अब अर्को मिति नसारिने र मंसिरमा जसरी पनि गर्न मन्त्रालयसहित सम्बन्धित निकायलाई निर्देशन दिए।

उनले भने–‘अब राष्ट्रिय खेलकुद मंसिरमा हुन्छ। मन्त्रालय र सम्बन्धित निकायलाई निर्देशन दिन चाहन्छु। अब लज्जाको विषय भएको छ। अब निर्धारित मिति सार्न मिल्दैन ।’

प्रधानमन्त्री ओलीले कीर्तिपुर रंगशाला सानो भयो भनेर चित्त नदुखाउन क्रिकेट समर्थकहरूलाई आग्रह गर्न समेत भ्याए । उनले भने–कीर्तिपुर रंगशाला सानो भएर आत्तिनुभएन। यो निरन्तर विस्तार हुन्छ। धेरै जनाले हेर्ने बनाउँछौं। अहिलेको त फस्ट फेजको काममात्र हो। दोस्रो फेजमा अझ ठूलो विस्तार हुन्छ। अब यो क्रिकेट मैदानमात्र होइन, रंगशालामा परिणत भएको छ। राति खेल्न मिल्ने हुनेछ। यसलाई अन्तर्राष्ट्रिय स्तरको मैदानको रूपमा विकास गर्दैछौं ।’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077