काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा चेन्नई सुपर किङ्सले दोस्रो जित निकालेको छ ।
हिजो भएको खेलमा चेन्नईले लखनउ सुपर जायन्ट्सलाई पाँच विकेटले पराजित गरेको हो । योसँगै लखनउको तीन खेलको अपराजित यात्रा र चेन्नईको पाँच खेलमा जीतविहीन यात्रा टुङ्गिएको छ ।
लखनउले दिएको १६७ रनको लक्ष्य पछ्याएको चेन्नईले १९ ओभर तीन बलमा पाँच विकेट गुमाउँदै १६८ रन बनायो ।
चेन्नईकाशिवम दुबेले सर्वाधिक ४३ रन बनाए । कप्तान मेहेन्द्र सिंह धोनीले २६ रन जोडे । लखनउका रवि बिश्नोईले दुई विकेट लिए ।
त्यसअघि भारत रत्न श्री अटल बिहारी क्रिकेट स्टेडियममा टस हारेर पहिला ब्याटिङ थालेको घरेलु टोली लखनउले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै १६६ रन बनाएको थियो ।
लखनउका कप्तान ऋषभ पन्तले सर्वाधिक ६३ रन बनाए । मिचेल मार्शले ३० रन जोडे । चेन्नईका रवीन्द्र जडेजा र मथिशा पाथिरानाले समान दुई विकेट लिए ।
प्रतियोगितामा लखनउको सात खेलबाट आठ अङ्क छ । समान खेलबाट पुछारमा रहेको चेन्नईले चार अङ्क पुर्याएको छ ।
Leave a Reply