पर्सा । वीरगन्जमा जारी दुई फरक धर्म समुदाय बीचको विवाद अन्त्य गर्न पाँच बुँदे सहमति भएको छ । जिल्ला प्रशासन कार्यालय पर्सामा आइतबार दिनभर भएको दुई पक्षीय, सर्वपक्षीय र सर्वदलीय छलफलपछि साँझ पाँच बुँदे सहमति भएको हो ।
प्रमुख जिल्ला अधिकारी गणेश अर्याल र सुरक्षा निकायका प्रमुखहरुको उपस्थितिमा भएको छलफलमा वीरगन्जमा हनुमान जन्मोत्सवको अवसरमा शनिबार निकालिएको शोभायात्राका क्रममा भएको झडपको घटनामा संलग्न दोषीहरूलाई वैशाख ३ गतेभित्र पक्राउ गरी कारबाही गर्ने, अन्तर धार्मिकरसाम्रपदायिक सद्भाव र सहिष्णुता कायम राख्नका लागि सबै पक्ष पूर्ण प्रतिबद्ध रही कानुनी कारबाहीको प्रक्रियामा सहयोग पु्र्याउने सहमति भएको छ।
पाँच बुँदे सहमतिपत्रमा उल्लेख पाँच वटै बुँदाप्रति जिल्लामा सक्रिय सबै राजनीतिक दलका नेता, हिन्दू र मुस्लिम समुदायका अगुवाहरुले हस्ताक्षर गरेका छन् ।
शनिबार बेलुकीदेखि वीरगन्जमा लगाइएको कर्फ्यू भने आइतबार राति १२ बजेसम्म निरन्तर रहने बताइएको छ । शनिबारको घटनामा स्थिति नियन्त्रणमा लिने प्रयासमा प्रहरीले १४५ राउण्ड अश्रु ग्यास र दुई राउण्ड हवाइ फायर गरेको थियो ।
घटनामा प्रहरीतर्फ नेपाल प्रहरीका प्रहरी उपरीक्षक, सशस्त्र प्रहरी नायब उपरीक्षकसहित २५ जना र प्रदर्शनकारीतर्फ १५ जना बढी घाइते भएका थिए ।
Leave a Reply