काठमाडौं । नेपाल राष्ट्र बैंकले ९७ करोड रुपैयाँ विभिन्न बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ ।
राष्ट्र बैंकले आइतबार सूचना जारी गरी आफ्नो उपदान र पेन्सन कोषमा रहेको ९७ करोड बराबर रकम वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीमा लगानी गर्ने जनाएको हो ।
राष्ट्र बैंकका अनुसार ७ वैशाख २०८२ देखि ७ वैशाख २०८३ सम्म ३ सय ६६ दिनको मुद्दती निक्षेपमा उक्त रकम लगानी गर्न लागिएको हो ।
आगामी ३ वैशाख साँझ ७ भित्र आवेदन दिनुपर्ने छ ।
केन्द्रीय बैंकका अनुसार ‘क’ वर्गका वाणिज्य बैंक, ‘ख’ वर्गका राष्ट्रिय स्तरका विकास बैंक र ‘ग’ वर्गका राष्ट्रिय स्तरका वित्त कम्पनीमा उक्त परिमाण बराबर रकम मुद्दती निक्षेपमा लगानी गरिने छ ।
वाणिज्य बैंकमा ७७ करोड ६० लाख, विकास बैंकमा १४ करोड ५५ लाख र वित्त कम्पनीमा ४ करोड ८५ लाख रुपैयाँ मुद्दती निक्षेपमा लगानी गरिने छ ।
निक्षेप लगानी गरिने बैंक तथा वित्तीय संस्था शीघ्र सुधारात्मक कारबाहीमा परेको भए यस्तो कारबाही फुकुवा भएको कम्तीमा ६ महिना पूरा भएको हुनुपर्ने, त्यस्तै राष्ट्र बैंकको कारबाहीमा परी समस्याग्रस्त घोषणा नभएको हुनुपर्ने र भएको भए फुकुवा भएको ६ महिना अवधि पूरा भएको हुनुपर्ने तथा सर्वसाधारणका लागि छुट्याइएको सेयर जारी गरिसकेको हुनुपर्ने सर्त केन्द्रीय बैंकको छ ।
Leave a Reply