काठमाडौं । खाद्य, प्रविधि तथा गुण नियन्त्रण विभाग र काठमाडौं महानगरपालिकाबीच खाद्य स्वच्छता तथा गुणस्तर कायम गर्न सहकार्य गर्ने सम्बन्धी सहमति पत्रमा हस्ताक्षर भएको छ।
विभागको कार्यालयमा काठमाडौं महानगरपालिका र विभागबीच सहमति पत्रमा हस्ताक्षर भएको हो।
महानगरपालिकाको तर्फबाट निमित्त प्रमुख प्रशासकीय अधिकृत नुरनिधि न्यौपाने र विभागको तर्फबाट महानिर्देशक सञ्जीवकुमार कर्णले सहमति पत्रमा हस्ताक्षर गरे।
कार्यक्रममा बोल्दै विभागका महानिर्देशक कर्णले विभागको संरचना ७५३ वटै पालिकामा निर्माण नभएको कारणले एकल रूपमा देशभर खाद्य स्वच्छता र गुणस्तर कायम गर्न नसकिने बताए।
उनले यो काम तीन तहकै सरकारको जिम्मेवारी भएको स्पष्ट पार्दै, काठमाडौँ महानगरपालिकासँगको सहकार्यलाई मात्र प्रारम्भिक कदमको रूपमा हेर्नुपर्ने र आगामी दिनमा यो अभियान ७५३ वटै पालिकासम्म विस्तार गर्ने लक्ष्य रहेको बताए। महानिर्देशक कर्णले ७५३ वटै पालिकासँग सहकार्य गरेर अगाडि बढ्ने विश्वास व्यक्त गरे ।
उनले विभागसँग लामो अनुभव भए पनि स्रोत र साधनको अभावका कारण केही कार्यहरूमा प्रभावकारी परिणाम दिन नसकिएको स्वीकार गरे । उनले खाद्य प्रविधि र दक्ष प्राविधिकलाई समावेश गरेर अनुगमन र नियमन कार्यलाई सशक्त बनाउनुपर्नेमा जोड दिए ।
खाद्य स्वच्छता र गुणस्तरलाई प्राथमिकता दिने उद्देश्यले महानगरपालिकामा छुट्टै निकाय स्थापना गरेर परीक्षण, नियमन, र प्रयोगशाला व्यवस्थापनमा सुधार गर्नुपर्ने पनि उनले बताए ।
उनको दाबी छ कि यसरी सहकार्य गरी अनुगमनको दायरा विस्तार गर्न सकियो भने सबै नेपालीको स्वास्थ्य सुरक्षामा सकारात्मक प्रभाव पर्नेछ।
Leave a Reply