Online Nepal
  • बिहिबार, ११ बैशाख २०८२
  • नेपाल प्रहरीका ३० आईजीपी : तीन दिनमा हटाइएकादेखि दुई पटक संगठन हाँकेकासम्म

    नेपाल प्रहरीका ३० आईजीपी : तीन दिनमा हटाइएकादेखि दुई पटक संगठन हाँकेकासम्म

    कुमार भण्डारी
  • सोमबार, ४ चैत्र २०८१
  • 11.9K
    SHARES

    काठमाडौं । नेपालमा प्रहरी संगठनको औपचारिक स्थापना वि.सं २०१२ सालको असोज महिनामा ‘प्रहरी ऐन’ जारी भएपछि भएको हो । यद्यपी शान्ति–सुरक्षा कार्यमा प्रहरीलाई व्यवस्थित रूपमा परिचालन गर्ने कार्य सन् १९१४ देखि शुरू भएको थियो ।

    यस संगठनलाई नागरिकका सुरक्षाको दृष्टिमा सर्वोत्कृष्ट निकाय मानिन्छ । नेपाल प्रहरी जस्तो संवेदनशील सुरक्षा अंग, जो नेपालका हकमा शान्ति सुरक्षा तथा अपराध अनुसन्धान गर्ने निकाय मात्र होइन, कानुन कार्यान्वयनको प्रमुख संयन्त्र पनि हो । राज्यको हरेक भूगोल र हरेक नागरिकसम्म पुग्न सक्ने एक मात्र सरकारी निकाय पनि प्रहरी नै हो ।



    संविधानमा व्यवस्था भएका विधिविधानको कार्यान्वयन गर्दै शान्ति सुरक्षा कार्यलाई व्यवस्थित बनाउने नेपाल प्रहरीले ९ दशकमा संगठन हाँक्ने ३१ महानिरीक्षक पायो । जसमा नेतृत्वमा रहँदा कोहि विवादित बने भने कोहि वाहवाही पाएर बाहिरिए ।

    तोरण शमशेर जबरा

    नेपाल प्रहरीको पहिलो हुन् आईजीपी तोरण शमशेर जबरा । प्रहरी प्रधान कार्यालयको स्थापनापछि जबरालाई २००७ चैतमा आईजी नियुक्त गरिएको थियो । राणा शासकहरुको १०४ वर्ष लामो वंशीय, निरंकुश र हुकुमी शासनलाई विदा गरी मुलुकमा ‘प्रजातन्त्रको दियो’ बालिएपछि पहिलो आईजीपीको रुपमा कार्यभार सम्हालेका जबरा ३ दिनभित्रै षड्यन्त्रको शिकार बने र पदच्यूत भए ।

    तोरण शमशेर २० मे १९५६ देखि २० मे १९६० सम्म प्रधानसेनापति रहे । उनी आफ्ना पुर्ववर्ती झैं श्रीपेच लगाउन चाहन्थे तर मातृकाप्रसाद कोइरालाले दिएनन् । राजा त्रिभुवनले उनको लागि विशेष टोपीको व्यवस्था गरेका थिए तर असन्तुष्ट रहेका तोरणले टोपी लगाउन मानेनन् र आफ्नो मुडुलो टाउको नै लिएर हिड्ने गर्थे ।

    नर शमशेर जबरा

    पहिलो आईजी नियुक्त भएका तोरण शमशेर पदच्यूत भएपछि दोस्रो महानिरीक्षकको रूपमा नर शमशेर जबरालाई नियुक्त गरियो । उनले २ वर्ष अर्थात २००७ चैतदेखि २०१० मङ्सिरसम्म महानिरीक्षकको रुपमा कार्यभार सम्हाले । नर शमशेरलाई १ सय ३ वर्षे राणा शासनका एक क्रुर पात्रको रुपमा लिइन्छ । उनले चार जना– शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, गंगालाल श्रेष्ठ र दशरथ चन्दलाई मृत्युदण्डको सजाय दिएका थिए ।

    ज्ञानबहादुर याक्थुम्बा

    नेपाल प्रहरीको तेस्रो प्रहरी महानिरीक्षक हुन् जीबी अर्थात ज्ञानबहादुर याक्थुम्बा । २०१० मंसिरमा आईजीपी नियुक्त भएका उनले २०१२ भदौसम्म महानिरीक्षकको रुपमा काम गरे । उनी भर्ना सेनाको मेजर पदबाट प्रहरी सेवामा प्रवेश गरेका थिए । महानिरीक्षकबाट अवकाश पाएपछि उनी बर्माका लागि नेपाली राजदूत भए । उनी स्वतन्त्रता सेनानी, मानव अधिकारको प्रवक्ता, गरिबजनको नायकका रूपमा पनि स्थापित थिए ।

    गोपाल शमशेर जबरा

    गोपाल शमशेर जबरा नेपाल प्रहरीको चौथौं महानिरीक्षक हुन् । २०१२ भदौदेखि २०१३ साउनसम्म उनले महानिरीक्षकको जिम्मेवारी सम्हालेका थिए । उनी राणा विरोधी अभियानमा समेत लागेका थिए ।

    पूर्ण सिंह खवास

    खवास नेपाल प्रहरीको पाँचौं महानिरीक्षक हुन् । उनले २०१३ साउनदेखि २०१४ भदौसम्म महानिरीक्षकको रुपमा कार्यभार सम्हालेका थिए । उनी राणा शासनको अन्त्य गर्ने नायकमध्येक एक योद्दा हुन् । शास्त्री, माथेमा, श्रेष्ठ र चन्दलाई मृत्युदण्ड दिइएपछि खवासकै नेतृत्वमा जनमुक्ति सेना गठन गरि राणा शासनको विरुद्ध क्रान्ति सुरु भएको थियो ।

    ढुण्डिराज शर्मा

    छैटौं महानिरीक्षकको रुपमा ढुण्डिराज शर्माले जिम्मेवारी सम्हालेका थिए । उनले २०१४ भदौदेखि २०१८ पुससम्म चार वर्ष जिम्मेवारी पाएका थिए ।

    पहल सिंह लामा

    लामा नेपाल प्रहरीको सातौं महानिरीक्षक हुन् । २०१८ पुसमा महानिरीक्षक नियुक्त भएका उनले २०२३ असारसम्म प्रहरी संगठनको नेतृत्व सम्हालेका थिए । नेपाल प्रहरी क्लबको स्थपना गर्न उनको योगदान उल्लेख्निय छ । महानिरीक्षकबाट अवकाश पाएपछि उनी कोलकाताको कन्सुलर जनरल बनेका थिए ।

    रोम बहादुर थापा

    थापा नेपाल प्रहरीको कमाण्ड सम्हाल्ने आठौं महानिरीक्षक हुन् । मगर समुदायबाट प्रहरी महानिरीक्षक हुने प्रथम व्यक्ति समेत हुन् । उनले २०२३ असारदेखि २०२९ असारसम्म नेतृत्वमा रहेर काम गरेका थिए ।

    खड्गजित बराल

    बराल नेपाल प्रहरीका नवौं महानिरीक्षक हुन् । उनी संगठनमा सबैले मन पराउने नेतृत्वमा पर्छन् । इमान्दार स्वभावका बरालले २०२९ असारदेखि २०३५ जेठसम्म नेपाल प्रहरीको कमाण्ड सम्हालेका थिए ।

    प्रहरी सेवाबाट अवकाश पाएपछि उनले ६ वर्षसम्म बर्माको लागि आवासीय नेपाली राजदूत, इन्डोनेसिया, सिंगापुर र फ्रेन्च इन्डोचाइना (लाओस, कम्बोडिया, भियतनाम)को लागि गैरआवासीय नेपाली राजदूतको रुपमा काम गरे ।

    बर्माका लागि नेपाली राजदूतबाट निवृत्त प्राप्त गरेपछि उनी राष्ट्रिय पञ्चायतमा मनोनित सांसद समेत भएका थिए । सांसदको रूपमा सेवा समाप्त भएपछि उनी युनाइटेड नेसन्स ट्रान्जिसन्ल अथरिटी इन कम्बोडिया (उन्टाक)को प्रमुख सम्पर्क अधिकृत भएका थिए ।

    दुर्लभ कुमार थापा

    थापाले २०३५ साउनदेखि २०३९ जेठसम्म प्रहरीको नेतृत्व सम्हालेका थिए । उनकै अग्रसरतामा आईजीपी निवास, कमाण्डो तालिमको सुरूवात, पर्यटक प्रहरी र प्रहरी पहरा गण आदिको स्थापना भएका हुन् । सन् २०१३ मा थापा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान (महाराजगञ्ज)बाट लाइफ टाइम अचिभमेन्ट अवार्डबाट सम्मानित समेत भएका थिए ।

    दिलबहादुर लामा

    लामा नेपाल प्रहरीको नृतृत्व सम्हाल्ने ११ औं आईजीपी हुन् । उनी २०३९ असारदेखि २०४३ जेठसम्म महानिरीक्षक बनेका थिए । लामाले आफ्नो कार्यकालमा प्रहरी संगठनलाई आधुनिकीकरण र साधनस्रोत सम्पन्न बनाउन अग्रसरता देखाएका थिए । उनकै कार्यकालमा २०४३ सालमा नेपाल प्रहरीमा महिला जनशक्तिका लागि खुला प्रतिस्पर्धाबाट भर्ना लिन थालियो ।

    त्यसअघिसम्म प्रहरीमा महिलालाई खुला प्रतिस्पर्धाबाट भर्ना लिइदैँन थियो । ट्राफिक प्रहरीमा महिला सहभागिता लामाकै कार्यकालमा सुरु भएको थियो । भूतपूर्व नेपाल प्रहरी संगठनका संस्थापक अध्यक्षसमेत रहेका लामा ०११ सालमा प्रहरी जवानबाट सेवा प्रवेश गरेका थिए ।

    हेम बहादुर सिंह

    हेमबहादुर सिंह नेपाल प्रहरीको १२ औं महानिरीक्षक हुन् । उनलाई खाकी पोशाक लगाउने अधिकृतको रुपमा चिनिन्छ । चार वर्ष २०४३ असारदेखि २०४७ जेठसम्म नेतृत्व सम्हालेका सिंहलाई ५७ औँ प्रहरी दिवसका दिन सम्मान गरिएको थियो ।

    रत्नशमशेर जबरा

    उनी नेपाल प्रहरीका १३ औं महानिरीक्षक हुन् । वि.स २०४७ असारमा प्रहरी महानिरीक्षक बनेका राणालाई तत्कालीन सरकारले २०४९ फागुनमा ३० वर्षे सेवा अवधि लगाएर हटाएको थियो । त्यसबेला कांग्रेस सभापति शेरबहादुर देउवा गृहमन्त्री थिए । उनकै पहलमा प्रहरी कर्मचारीको सेवाहद ३० वर्ष कायम हुने प्रावधान लागू भएको थियो ।

    मोतिलाल बोहरा

    ३० वर्षे सेवाअवधि लागू भएपछि रत्नशमशेरलाई हटाएर सरकारले २०४९ देखि देउवानिकट मोतिलाल बोहरालाई महानिरीक्षकमा बढुवा गरेको थियो । उनले आफ्नो चार वर्षे पूरै कार्यकाल २०५३ माघसम्म खाएर अवकाश पाएका थिए । पछि उनी भ्रष्टाचार मुद्दामा समेत मुछिएका थिए । तर, पछि सर्वोच्चले उनलाई सफाई दियो ।

    धुव्रबहादुर प्रधान

    प्रधान प्रहरीको १५ औं महानिरीक्षक हुन् । २०५३ देखि उनी प्रहरी प्रमुखको पदमा नियुक्त भएका थिए । २०५४ मंसिरसम्म नेतृत्वमा रहेका प्रधान हाल राप्रपाबाट सांसद समेत छन् ।

    अच्युतकृष्ण खरेल

    खरेल नेपालका १६ औं महानिरीक्षक हुन् । २००३ साल फागुन २८ गते मंगलबार काभ्रेपलाञ्चोक जिल्लाको खरेलथोक गाविसमा जन्मेका खरेलले २०२७ सालमा प्रहरी निरीक्षक पदमा प्रहरी सेवामा प्रवेश गरेका थिए । क्रमश बढुवा भएपछि उनी २०४९ सालमा प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) पदमा नियुक्त भए ।

    मोतीलाल बोहराले प्रहरी सेवाबाट अवकाश पाएपछि खरेल पहिलोपटक २०५३ चैत्तमा प्रहरी महानिरीक्षकमा नियुक्त भए । प्रहरी महानिरीक्षकमा नियुक्त भएको ३६ दिनपछि खरेलको राष्ट्रिय अनुसन्धान विभागको प्रमुखमा स्थानान्तरण भयो । उनको ठाउँमा उनका प्रतिस्पर्धी ध्रुवबहादुर प्रधान नेपाल प्रहरीका प्रमुख भए ।

    त्यसको करिब ८ महिनापछि २०५४ मंसिरमा खरेल पुनः नेपाल प्रहरीको प्रमुख भए । यसरी नेपाल प्रहरीको इतिहासमा दुईपटक प्रहरी महानिरीक्षक बन्ने खरेल पहिलो तथा एकमात्र व्यक्ति हुन् । उनको कार्यकालमा नेपाल प्रहरीमा ‘गुटबन्दी प्रथा’ नकारात्मक रूपमा चरम बिन्दुमा पुगेको मानिन्छ ।

    प्रदीप शमशेर जबरा

    जबरा नेपाल प्रहरीको १७ औं महानिरीक्षक हुन् । २०५७ असोजपछि २०५९ पुससम्म नेतृत्वमा रहेका जबरा संगठनमा इमान्दार प्रहरी अधिकृतको रुपमा चिनिन्थे ।

    श्यामभक्त थापा

    थापा नेपाल प्रहरीका १८ औं महानिरीक्षक हुन् । २०५९ पुसमा प्रहरी प्रमुखमा नियुक्त भएका उनले २०६३ भदौसम्म नेतृत्व गरेका थिए ।

    ओम विक्रम राणा

    २०६३ सालमा प्रहरी प्रमुखमा नियुक्त भएका राणाले २ वर्ष अर्थात २०६५ भदौसम्म प्रहरीको नेतृत्व सम्हाले । पछि उनी सुडान घोटालामा भ्रष्टाचारी ठहरिए । उनले सुडानको डार्फरमा खटिएका नेपाल प्रहरीका लागि आवश्यक एपिसी सामग्री खरिदमा अनियमितता गरेको भन्दै विशेष अदालतले २०६८ फागुन १ मा भ्रष्टाचारी ठहर गरेको थियो ।

    हेमबहादुर गुरूङ

    गुरूङ नेपाल प्रहरीको २० औं महानिरीक्षक हुन् । उनले २०६५ असोजदेखि २०६५ फागुन चार महिनासम्म संगठनको नेतृत्व गरेका थिए । उनी पनि सुडान घोटालामा मुछिए ।

    रमेश चन्द ठकुरी

    रमेश चन्द ठकुरी २१ औं प्रहरी महानिरीक्षक हुन् । २०६५ फागुनदेखि २०६८ जेठसम्म प्रहरी नेतृत्वमा रहेका चन्दसमेत सुडान घोटालामा मुछिएका अधिकृत हुन् ।

    रविन्द्र प्रताप शाह

    २२ औं प्रहरी महानिरीक्षक हुन् रविन्द्र प्रताप शाह । उनी २०६८ जेठ १८ गतेदेखि २०६९ भदौ २८ गतेसम्म प्रहरी संगठनको नेतृत्वमा थिए । सादा जीवन उच्च विचारको जीवन शैलीबाट अभिप्रेरित शाह प्रहरी सेवाप्रति निष्ठावान, व्यावसायिक र ईमान्दार प्रहरी अधिकृतका रूपमा चिनिन्छन् ।

    कुवेर सिंह राणा

    कुवेर सिंह राना नेपाल प्रहरीका २३ औं महानिरीक्षक हुन् । उनलाई तत्कालिन सरकारले २०६९ भदौ २८ गते प्रहरी महानिरीक्षक पदमा नियुक्त गरेको थियो । उनले २०७० कात्तिक ३० गतेसम्म प्रहरीको नेतृत्व सम्हालेका थिए ।

    उपेन्द्र कान्त अर्याल

    उपेन्द्र कान्त अर्याल नेपाल प्रहरीका २४ औं आईजीपी हुन् । २०७० मङ्सिरदेखि २०७३ फागुनसम्म उनले प्रहरी प्रमुखको जिम्मेवारी सम्हाले । अर्याल संगठनमा कडा र हक्की स्वभावका अधिकृतको रुपमा चिनिन्थे ।

    प्रकाश अर्याल

    सरकारले २५ औं आईजीपीको रुपमा २०७३ चैत २८ मा प्रकाश अर्याललाई नियुक्त गर्यो । सुरुमा सरकारले फागुन १ गते जयबहादुर चन्दलाई प्रहरी प्रमुखमा बढुवा गरेको थियो । तर, उनले फुली लगाउन नपाउँदै सर्वोच्चले निर्णय कार्यान्वयनमा रोक लगाएपछि अर्यालको भाग्य चम्केको थियो । अर्यालले २०७४ चैत २८ गतेसम्म प्रहरी संगठनको नेतृत्व गर्ने अवसर पाएका थिए ।

    सर्वेन्द्र खनाल

    सर्वेन्द्र खनाल नेपाल प्रहरीका २६ औँ प्रहरी महानिरीक्षक हुन् । उनी २०७४ चैत २६ गते प्रहरी महानिरीक्षक पदमा बढुवा भएका थिए । २०७६ माघ २७ गतेसम्म प्रहरीको नेतृत्वमा रहेका खनाल अवकाश पाएपछि एमालेको राजनीतिमा सक्रिय भएपनि हाल भने एमाले छाडेर बसेका छन् ।

    आईजीपीमा खनालको नियुक्तिसँगै संगठनले एक कुशल नेतृत्व पाएको भन्दै प्रहरीभित्रै चर्चा चल्यो । प्रहरी सेवामा रहेर काम गर्दा हालसम्म बसेको स्थानहरुमा उत्कृष्ट काम गरी लोकप्रियता कमाइसकेका खनालले एक व्यवसायीक अधिकृतको छवि बनाएका थिए। त्यतिमात्रै होइन आफ्नो क्षमता र दक्षताकै कारण उनी भारतबाट समेत पुरस्कृत भए ।

    नेपाल प्रहरीमा कुनै पनि ठाउँमा अराजकता फैलिएपछि त्यहाँको वस्तुस्थिति नियन्त्रण गर्नका लागि पटक–पटक खनाललाई पठाउने गरेको थियो।

    मधेस अन्दोलनका क्रममा धनुषामा आन्दोलनकारीले सबै सकारी कार्यालयलाई नियन्त्रणमा लिएपछि सरकारले स्थितिलाई नियन्त्रणमा लिन खनाललाई नै खटाएको थियो। जनआन्दोलनमा काठमाडौंको प्रमुख हुँदा उनले निभाएको भूमिकाकै कारण पनि उनी प्रहरीको नेतृत्व सम्हाल्न सक्छन् भन्ने प्रमाणित गरेको छ।

    खनालका चर्चित कामहरु छन, जुन अहिले पनि ताजै छ । मस्टवान्टेड सूचीका गुन्डा नाइके कुमार श्रेष्ठ घैंटेको इन्काउन्टर मात्रै होइन खनाल अपराध महाशाखामा आएपछिको लागूऔषध र अपहरण काण्डका अभियुक्त जेलबाट भागेका रावणजीत तामाङलाई गोली हानेर पक्राउ गरेका थिए।

    त्यस्तै काम गरेपछि परिणाम देखाउने खुबी भएका उनको अर्को ठूलो सफलता थियो, पैसामा खेल बेचेर सबै देशको इज्जत फाल्ने फुटबल खेलाडीमाथिको ठूलो र जोखिमयुक्त अप्रेसन।

    म्याच फिक्सिङ गर्नेको धन्दालाई धुजाधुजा पारेको केही समयमा नेपाली फुटबलमा नयाँ इतिहास कायम भयो। २३ वर्षपछि नेपालले अन्तर्राष्ट्रिय खेल जित्यो।

    महाभूकम्पको समयमा नाकाबन्दीको फाईदा उठाउँदै कालोबजारी र ठगी गर्नेहरुको संरक्षक बनेका सरकारका सहसचिव रामआधार साह पनि खनाल जालोमा परे।

    लामो समयदेखि पेट्रोलियम पदार्थ बेच्ने पम्प सञ्चालकहरुले तेलको मात्रा कम गरि बच्ने उपकरणहरु रिमोट, रिसिभर, डिभाईस, गियर, स्विच, कोड र सेफ्टी पिन जडान गरी उपभोक्ता ठग्नेलाई पनि खोजिखोजि हत्कडी लगाए।

    खनाल महाशाखामा आएको केही समयमा संचार उद्यमी जमिम साहको हत्याका मुख्य आरोपीलाई पक्राउ परे। जमिम हत्याकाण्डका आरोपित जगदिश चन्दलाई नियन्त्रणमा लिएका थिए।

    ललितपुरको बडिखेलमा १२ वर्ष पहिला एउटै परिवारका ५ जनाको विभत्स ढंगबाट भएको हत्याकाण्डको पर्दा पनि उनै खनालले खोले। २०६० सालमा एउटै परिवारका पाँच जनाको ज्यान लिने चन्द्र बहादुर पहरीलाई खनालकै टोलीले पक्राउ गरेर देखायो।

    अवैध कन्सल्टेन्सी खोलेर अवैध रुपमा विदेश पठाउने दलालहरुको अखडामा उनको टोलीले धावा बोल्यो । निहित स्वार्थका लागि शैक्षिक परामर्शको नाममा गलत सूचना दिएर हाम्रै छोरो छोरी तथा भाइ बहिनीको भविश्वमाथि खेलवाड गर्ने जो कोहिलाई कानूनले छाड्दैन भन्दै उनले कारवाही अगाडि बढाए।

    विभिन्न प्रलोभन देखाएर सर्वसाधारण जनताको करोडौं रुपैयाँ ठगी गरेर फरार भएका युनिटी लाईफ इन्टरनेशनल लिमिटेडका सञ्चालनक विष्णु बहादुर क्षेत्री र कृष्ण बहादुर क्षेत्री पनि खनालको फन्दामा परे। अनेकन प्रलोभन देखाएर यी दुई दाजुभाईले ठगीको सन्जाल नै चलाएका थिए।

    उनले आफ्नो जिम्मेवारीबाट भाग्ने प्रहरी संगठनका डिएसपीको घटुवा समेत गरेका थिए । कुख्यात भारतीय अन्डर वर्ल्ड नाइके बब्लु दुबेलाई पक्राउ गरेपछी त उनले भारतको समेत पुरस्कार पाए।

    तराई जनतान्त्रिक मुक्तिमोर्चा धनुषा महोत्तरी प्रमुख सुधिर पाण्डे, राजन मुक्ति प्लटुन कमाण्डर, ज्वाला समूहका धनुषा, महोत्तरी, सर्लाही इन्चार्ज मरिक यादव, वीरगन्जमा उत्पाद मच्चाउने गुण्डा नाइके अग्नी भनिने सुनिल जैसवाललाई पनि खनालले कारवाहीको दायरामा ल्याएका थिए।

    सार्वजनिक माइक्रो चालक र सहचालकलाई पोशाक लगाउने नियम बसालेका खनालकै पहलमा पशुपति, ठमेल र असन क्षेत्रमा चारपाङ्ग्रे सवारी निषेध गराएर ब्यवस्थित बनेको थियो ।

    आईजीपी बनेपछि उनले प्रहरीको मनोबल उकास्न उनले एक वर्षसम्म रोकिएको बढुवा एवं सरुवालाई प्राथमिकतामा राखेर सोहीअनुसारको समूहसमेत छनोट गरी प्रहरी कर्मचारीहरुको वृत्ति विकास र बेथिति अन्त्यका लागि अभियान छेड्न निर्देशन दिए । जसले तल्लो दर्जाका प्रहरीहरुलाई हौसल्ला प्रदान गर्यो ।

    आईजीपी खनालले आफ्नो एक वर्षको अवधिमा नराम्रो कार्यमा तल्लीन करिब ३६५० जना प्रहरी कर्मचारीहरुलाई गलत आचरणका कारण बिभागीय कारवाही गरे भने कर्मचारीको मनोवल उकास्न प्रमोसन, सरुवाका अलवा ५०१९ जना प्रहरी कर्मचारीलाई पुरस्कृतसमेत गरेका थिए ।

    खनालले नै ‘समुदाय–प्रहरी साझेदारी अभियान’ सञ्चालनमा ल्याए, जसले महिला तथा बालबालिकामाथि हुने तथा अन्य सबै प्रकारका अपराध नियन्त्रण गर्न सहज बन्यो ।

    ठाकुर प्रसाद ज्ञवाली

    ठाकुर प्रसाद ज्ञवाली नेपाल प्रहरीका २७ औँ प्रहरी महानिरीक्षक हुन् । उनलाई विसं २०७६ माघ २८ मा बसेको मन्त्रिपरिषद बैठकले प्रहरी महानिरीक्षक पदमा बढुवा गरेको थियो । सर्वेन्द्र खनालले अवकाश पाएपछि माघ २९ मा ज्ञवालीले प्रहरी प्रमुखको रुपमा कार्यभार सम्हालेका थिए । उनले २०७६ माघ २८देखि २०७७ असार २३ गतेसम्म प्रहरीको नेतृत्व सम्हाले ।

    शैलश थापा क्षेत्री

    थापा २८ औँ प्रहरी महानिरीक्षक हुन् । २०७७ असार २३ मा आइजीपीमा बढुवा भएका थापाले २०७९ वैशाख १८ गतेसम्म प्रहरी महानिरीक्षकको जिम्मेवारी बहन गरेका थिए । संगठनमा उनी इमान्दार, अब्बल, बौद्धिक र व्यवसायीक प्रहरी अधिकृतको रुपमा चिनिन्थे । संगठनभित्र व्यवसायिक एवं इमान्दार अधिकृतका रुपमा चिनिन्छन् ।

    धीरज प्रताप सिंह

    २०७९ वैशाख १७ गते प्रहरी महानिरीक्षकमा नियुक्त भएका धीरज प्रताप सिंह २९ औं प्रहरी प्रमुख हुन् । २०७९ चैत १० गतेसम्म नेतृत्वमा रहेका सिंहले संगठनमा अब्बल अधिकृतको पहिचान बनाउन सफल भए भने तीन तहको निर्वाचन सम्पन्न गरेका थिए ।

    वसन्त बहादुर कुँवर

    कुँवरलाई सरकारले २०७९ चैत १० गते ३० औं प्रहरी महानिरीक्षकमा नियुक्त गरेको थियो । २०५१ चैत ५ गते प्रहरी निरीक्षक पदबाट प्रहरी सेवा प्रवेश गरेका उनी संगठनमा इमान्दार प्रहरी अधिकृतको रुपमा चिनिन्छन् । उनकै पालामा ललिता निवास, नक्कली भुटानी शरणार्थी काण्ड लगायत ठूला काण्डहरुको फाइल खोलियो । कुँवरले आजबाट अवकाश पाएसँगै सरकारले ३१औं आईजीपीका रुपमा दिपक थापालाई नियुक्त गर्ने निर्णय गरेको हो ।

    दिपक थापा

    थापा २०५२ भदौ १९ गते प्रहरी सेवा प्रवेश गरेका अधिकारी हुन् । २६ फागुन २०७९ मा एआइजीमा सिफारिस भएका दीपक थापालाई ६ चैत २०७० को मन्त्रिपरिषद् बैठकले एआईजीमा बढुवा गरेको थियो । प्रहरीमा यहि नियम लागू भए थापा २०८२ भदौ १९ गतेसम्म सेवामा रहनेछन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार