कैलाली । धनगढी उपमहानगरपालिकाका नगरप्रमुख गोपाल हमालको स्वास्थ्य अवस्थाबारे जानकारी लिनेको निवासमा घुइँचो लाग्न थालेको छ ।
भारतको दिल्लीबाट केही दिनअघि मस्तिष्क घातको उपचार गरेर फर्किएका नगरप्रमुख हमाल हाल घरमै आराम गरिरहेका छन् । तर उनको स्वास्थ्य अवस्थाबारे जानकारी लिनेहरुको घरमै घुइँचो लाग्न थालेको हो ।
शनिबार मात्रै पूर्वप्रधानमन्त्रीदेखि मन्त्रीहरुले स्वास्थ्य अवस्थाबारे जानकारी लिएका थिए । मेयर हमालको स्वास्थ्य अवस्था बुझ्न पूर्वप्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ शनिबार निवासमै पुगेका थिए ।
माओवादी केन्द्रद्वारा कञ्चनपुरको पुनर्वासमा शनिबार आयोजित खबरदारीसभाका लागि यहाँ आएका दाहालले हमालको धनगढीस्थित निवासमै पुगेर स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हुन् ।
यस्तै शनिबार नै परराष्ट्रमन्त्री आरजु राणा देउवा, वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही, मुख्यमन्त्री कमलबहादुर शाह, प्रधानसेनापति अशोकराज सिग्देलले समेत भेटघाट गरेका छन् । उनीहरुले मेयर हमालको शीघ्र स्वास्थ्य लाभको कामना पनि गरे ।
Leave a Reply