काठमाडौं । खानेपानीमन्त्री प्रदीप यादवले काठमाडौंका विभिन्न स्थानमा भइरहेको पानी चुहावट नियन्त्रण गर्न सरोकार भएका निकायलाई निर्देशन दिएका छन् ।
काठमाडौंका विभिन्न स्थानमा पछिल्लो समय पानी चुहावट भएर खेर गइरहेको जानकारी प्राप्त भएपछि मन्त्री यादवले आज पानी चुहावट भइरहेका ठाउँमा तत्काल पाइप मर्मत गरी नियमित सेवा सञ्चालन गराउन सम्बन्धित निकायलाई निर्देशन दिएका हुन् ।
'काठमाडौंका कतिपय ठाउँमा पानी चुहावट भएर खेर गइरहेको जानकारी प्राप्त भएको छ, कतिपय ठाउँमा खानेपानीका पाइप फुटेर पनि पानी चुहावट भइरहेको जन गुनासो छ । पाइप फुटेर पानी खेर गइरहेकाले तत्काल समस्या समाधान गरी नागरिकलाई नियमित र स्वच्छ पानी वितरण गर्नुहोला,' मन्त्री यादवले भने ।
मन्त्री यादवले खानेपानीका पाइप फुट्दा दिसापिसाव तथा किटाणुसहित फोहर मिसिएर अस्वस्थकर पानी आपूर्ति हुनसक्ने भएकाले त्यसतर्फ सचेत रही शुद्ध खानेपानी आपूर्ति गराउन निर्देशन दिए ।