काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा जनकपुर बोल्ट्स प्लेअफमा पुग्ने पहिलो टोली बनेको छ।
कीर्तिपुरस्थित त्रिवि मैदानमा काठमान्डु गुर्खाजलाई ५ विकेटले पराजित गरेसँगै जनकपुर एक खेलअघि नै प्लेअफमा पुगेको हो।
जनकपुरले आफ्नो ६ खेलमा पाँच जित निकालेको छ। काठमान्डुलाई हराएको जनकपुर अघिल्लो खेलमा सुदूरपश्चिम रोयल्ससँग पराजित भएको थियो। त्यसअघि उसले लगातार चार खेलमा जित निकालेको थियो ।
जनकपुरले पहिलो खेलमा विराटनगर किंग्स, दोस्रो खेलमा कर्णाली याक्स, तेस्रो खेलमा पोखरा एभेन्जर्स र चौथो खेलमा लुम्बिनी लायन्सलाई हराएको थियो। जनकपुर अन्तिम खेलमा चितवन राइनोजसँग भिड्ने छ ।
आजको खेलमा पराजित भएसँगै काठमाडौंको प्लेअफ सम्भावना भने कठिन भएको छ। काठमाडौंले पाँच खेलमा तीन खेलमा हार ब्यहोरिसकेको छ। अब उसलाई प्लेअफमा पुग्नका लागि बाँकी दुवै खेल जित्नु पर्नेछ।
काठमान्डुले दिएको १०२ रनको लक्ष्य जनकपुरले ५ विकेटको क्षतिमा १५.५ ओभरमा पूरा गर्यो। जनकपुरका लागि हर्ष थाकरले नटआउट २५ रन र मोहमद मोहसिनले नटआउट १३ रन जोडे।
जनकपुरका ओपनिङ ब्याटर आसिफ शेख २ रन र कप्तान अनिलकुमार साह ११ रनमै आउट भए। अर्का ओपनर लाहिरू मिलन्थाले पनि १६ रन मात्र जोड्न सके। आसिफ र लाहिरूको विकेट काठमाडौंका कप्तान करण केसीले लिए।
अनिललाई काठमान्डुका दिपेश कडेँंलले एलबिडब्लूको धरापमा पारे। शुभ कंसाकार ५ रनमा आउट हुँदा जिमी निशमले १७ रनमा २७ रन जोडे। निशमले १ चौका र ३ छक्का प्रहार गरे।
बलिङमा काठमान्डुका कप्तान करण केसीले २ विकेट लिए। टस जितेर पहिले ब्याटिङ गरेको काठमान्डु तीन बल खेल्न बाँकी छदा १०१ अलआउट भएको थियो। काठमाडौंको ब्याटिङ कुनै पनि बेला पनि सम्हालिन सकेन।
ओपनरद्वय माइकल लेभिट ८ रन र स्टेफन इस्किनाजी १७ रनमा आउट भए। बलिङमा जनकपुरका ललितले ३ विकेट लिए।
जारी प्रतियोगितामा सर्वाधिक विकेट लिने खेलाडीको सूचीमा शीर्ष स्थानमा रहेका ललितले कुल ११ विकेट लिइसकेका छन्। यस्तै शेर मल्लले पनि ३ विकेट लिए भने मोहमद मोसिनले २ विकेट हात पारे। किशोर महतोले १ विकेट लिए।
Leave a Reply