Online Nepal
  • शुक्रबार, २ कार्तिक २०८१
  • दशैंको १० दिन : उपत्यकाका ११ ठाउँमा चोरी हुँदा १३० सवारी दुर्घटना, चार जनाको मृत्यु

    दशैंको १० दिन : उपत्यकाका ११ ठाउँमा चोरी हुँदा १३० सवारी दुर्घटना, चार जनाको मृत्यु

    अनलाइन नेपाल
  • बिहिबार, १ कार्तिक २०८१
  • 180
    SHARES

    काठमाडौं । काठमाडौं उपत्यकामा दशैंको अवधिभर ११ वटा चोरीका घटना भएका छन् । उपत्यकाका तीन जिल्लाहरु काठमाडौं, र भक्तपुरमा जम्मा ११ वटा चोरीको घटना भएको काठमाडौं उपत्यका प्रहरी कार्यालय रानिपोखरीले जनाएको छ ।

    जसमध्ये काठमाडौंमा ९ वटा, भक्तपुरमा २ वटा र ललितपुरमा भने शून्य चोरी भएको उपत्यका प्रहरी कार्यालय रानिपोखरीले जनाएको हो ।
    यो विवरण दशैंको अवधि १७ गतेदेखि २८ असोजसम्मको हो । उक्त अवधिमा विशेषगरी दिउँसो १२ बजेदेखि साँझ ६ बजेसम्म बढी चोरी भएको पाइएको एसएसपी घिमिरेले बताए ।



    अधिकांश चोरी घरमा मान्छे नभएको मौकामा ताला फोडेर भएका छन् । चोरीका घटनामा संलग्न भएकामध्ये केहीलाई पक्राउ समेत गरिएको प्रहरीले जनाएको छ । चिनियाँ नागरिकको कोठाबाट १७ लाख रुपैयाँ बराबरको चोरी घटनामा संलग्न भएकाहरुलाई समेत पक्राउ गरिएको प्रहरीले जनाएको छ ।



    प्रहरीका अनुसार १७ देखि २८ असोजसम्मको अवधिमा काठमाडौं उपत्यकाका तीन जिल्लाहरुमा १३० वटा सवारी दुर्घटना भएका छन् । दुर्घटनामा परेर ४ जनाको ज्यान गएको छ । जसमध्ये ३ जनाको मृत्यु आफ्नै लापरबाहीका कारण सवारी दुर्घटना भएर मुत्यु भएको प्रहरीको भनाइ छ । अर्का एक जनाको मृत्यु भने ‘हिट एण्ड रन’बाट भएको प्रहरीले जनाएको छ ।

    प्रहरीले ‘हिट एण्ड रन’ घटनामा संलग्न विराटनगर उपमहानगरपालिका–१७ घर भई ललितपुर कुपन्डोल बस्दै आएका ४० वर्षीय निरज विष्ट पक्राउ समेत गरेको छ । घटनाको चार दिनपछि कुपन्डोलबाट उनलाई पक्राउ गरिएको हो ।

    २६ असोजको साँझ साढे ६ बजेतिर तिनकुन गैरीगाउँ सडकमा सर्लाहीको कबिलास नगरपालिका–२ घर भई काठमाडौं बस्दै आएका ५१ वर्षीय विनोद महरा भन्ने रामविनय महरालाई विष्टले चलाएको बा ३ च ९४४ नम्बरको कारले ठक्कर दिई घाइते बनाएको थियो ।

    घाइतेलाई सिनामंगलस्थित केएमसी अस्पताल पुर्‍याएपछि विष्ट भने फरार भएका थिए । उनको उपचारको क्रममा २७ गते बिहान १ बजे मृत्यु भएको थियो ।

    दुर्घटनामा ४ जनाको मृत्यु हुनका साथै १८८ जना घाइते भएका थिए । घाइतेहरु सबैको अवस्था सामान्य रहेको थियो । सबैभन्दा बढी मोटरसाइकल दुर्घटना भएको प्रहरीको तथ्यांक छ । त्यो पनि ठिमी–जगाती सडकखण्डमा बढी दुर्घघटना भएको एसएसपी घिमिरेले बताए ।

    दशैंको यो अवधिमा उपत्यकाका तीन जिल्लामध्ये काठमाडौं र भक्तपुरबाट जुवातास खेलेको आरोपमा एक जना पनि पक्राउ परेनन् । ललितपुरबाट भने २ वटा जुवाखालबाट जम्मा ११ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

    काठडमाडौं उपत्यका प्रहरी कार्यालयले दशैं सुरक्षा योजना अनुसार तीन जिल्लामा मात्रै १० हजार प्रहरी परिचालन गरेको थियो । मान्छेको अत्यधिक चाप र दशैं मनाउन गाउँ जाँदा घर र कोठा रत्तो हुने हुँदा चोरी बढ्न सक्ने भन्दै तीन जिल्लामा थप जनशक्ति परिचालन गरिएको थियो ।

    काठमाडौंमा मात्रै दशैंमा हुनसक्ने अपराधलाई रोक्न तथा न्यूनीकरण गर्न १४ वटा एरियामा डीएसपीको कमाण्डमा १० जनाको टोली परिचालन गरिएको थियो । दुई रुटमा लङ रेञ्ज गस्ती, ४२ रुटमा सर्ट रेञ्ज गस्तीको व्यवस्था मिलाइएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार