काठमाडौं । मधेस प्रदेशका प्रहरी प्रमुख डिआइजी यज्ञबिनोद पोखरेलमाथि प्रहरी प्रधान कार्यालयले विस्तृत छानविन अघि बढाएको छ ।
उनीसँग निकट बिचौलिया पक्राउ परेका छन् भने घुमुवाहरुलाई प्रहरी प्रधान कार्यालयले झिकाएर सोधपुछ गरिरहेको छ ।
तराईमा घुमुवा र बिचौलियामार्फत तस्करीको लाइन खुलाएर अकुत आर्जन गरेको भेटिएपछि उनीमाथि छानविन अघि बढेको हो ।
प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरले समेत उनको नाम नलिई केही दिनअघि एक डिआइजी ‘छिट्टै फस्ने’ बताएका थिए ।
डिआइजी पोखरेलले आफ्नो बैंक खाताबाटै लेनदेन गरेको प्रमाण भेटिएपछि अन्यलाई सचेत गराउँदै आइजिपी कुँवरले सार्वजनिक रुपमै सुध्रिन अन्य प्रहरीलाई चेतावनी दिएका छन् ।
डिआइजी पोखरेलको खातामा पैसा हाल्ने जनकपुरका बिचौलिया जितेन्द्र कर्णलाई प्रहरीले पक्राउ गरेको छ। आईजीपीकै निर्देशनमा उनी पक्राउ परेका हुन् ।
नेविसंघका कार्यकर्ता समेत रहेका कर्णले डिआइजीको नाममा तस्करहरुसँग पैसा उठाउने र बुझाउने गर्दथे । यद्यपी डिआइजी पोखरेलले भने आफ्नो खातामा आएको रकम घुसको नभई छोरालाई विदेश पठाउन सापट मागेको दाबी गरेका छन् ।
केही दिनअघि नै उनलाई पक्राउ गर्न खोजिएपनि स्थानीयले अवरोध गरेका थिए । पोखरेलले विभिन्न नाकामा घुमुवा राखेर पैसा उठाएको समेत पुष्टि भएको छ ।
उनले खटाएका घुमुवाहरू सई चन्द्रप्रसाद यादब, असई उपेन्द्र प्रसाद यादब, वरिष्ठ हवल्दार निरज कुमार साह, हवल्दार बच्चेलाल यादब, बृजेश मुखिया, शैलेन्द्रप्रसाद कुर्मी, सहायक हवल्दार अशोक कुमार यादब, ईश्वर अच्छामी, मुकुन्द शर्मा र जवान सतेशलाल कायस्थलाई उजुरी छानविन शाखाले गणमा राखेर छानविन गरिरहेको छ । उनीहरु डिआइजीको घुमुवाका रुपमा विभिन्न कार्यालयमा खटाइएका थिए ।
सई चन्द्रप्रसाद यादब, धनुषाको प्रहरी चौकी दुहबी तथा असई उपेन्द्र प्रसाद यादब सप्तरीको प्रहरी चौकी मोहवामा कार्यरत थिए ।
वरिष्ठ हवल्दार निरज कुमार साह जिप्रका धनुषा, हवल्दार बच्चेलाल यादब, जिप्रका बारा, बृजेश मुखिया इप्रका बालाङखा, शैलेन्द्रप्रसाद कुर्मी इप्रका निजगढ, सहायक हवल्दार अशोक कुमार यादब प्रहरी चौकी जनकपुरधाम, ईश्वर अच्छामी, मधेस प्रदेश प्रहरी कार्यालय, जनकपुर, मुकुन्द शर्मा प्रहरी चौकी कपिलेश्वर धनुषा र जवान सतेशलाल कायस्थ जिप्रका धनुषामा कार्यरत थिए ।
केही दिनभित्रै पोखरेलमाथिको छानविन प्रतिवेदन बुझाउन प्रहरी महानिरीक्षक कुँवरले निर्देशन दिएका छन् । जसअनुसार आगामी साता नै उनको सरुवा हुन सक्ने बताइन्छ ।
Leave a Reply