धनगढी । धनगढीको नोभा हस्पिटलमा उपचारका क्रममा ज्यान गुमाएका युवकका आफन्तले शव बुझेका छन् ।
जन्डिसको समस्या देखिएपछि अस्पताल भर्ना भएर उपचारका क्रममा मृत्यु भएका कञ्चनपुरको बेलौरी नगरपालिका–२ का १७ वर्षीय नसिब चौधरीको परिवारलाई क्षतिपूर्ति दिने सहमतिपछि शव बुझेका हुन् ।
मृतकका परिवारलाई क्षतिपूर्ति वापत साढे १३ लाख रुपैयाँ दिने, शनिबारको प्रदर्शनका क्रममा घाइते भएका दुई जनाको उपचार, शव परीक्षण गरेर घरसम्म पुगाउने खर्च व्यहोर्ने सहमति भएको अस्पताल स्रोतले बतायो ।
मृतकका मामा फूलाराम चौधरीले पनि अस्पताले परिवारलाई क्षतिपूर्ति दिने, घाइते दुई जनाको उपचार गरिदिने र शव परीक्षणको जिम्मा लिने सहमति भएको जानकारी दिए । चौधरीले उक्त सहमतिपछि शव परीक्षणको प्रक्रिया अघि बढाइएको बताए ।
जन्डिसको समस्या लिएर ७ साउनमा अस्पताल भर्ना भएका चौधरीको शुक्रबार दिउँसो मृत्यु भएको थियो ।
Leave a Reply