Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

वैदेशिक रोजगार विभागले भन्यो - श्रमिकलाई दुःख दिने म्यानपावरमाथि कारबाही हुन्छ

काठमाडौं । वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई दुःख नदिन म्यानपावरलाई चेतावनी दिएको छ ।

म्यानपावर व्यवसायीहरूले वैदेशिक रोजगारीमा जानका लागि छनौट नहुँदै राहदानी लिने र राहदानी लिन जाँदा सेवा शुल्क माग्ने गरेको भन्दै विभागले दुःख नदिन चेतावनी दिएको हो ।

त्यस्ता खालका गुनासाहरू विभागमा समेत आउने गरेको भन्दै वैदेशिक रोजगार ऐन, २०६४ बमोजिम कारबाही गर्ने चेतावनी दिएको छ ।

विभागका प्रवक्ता तथा सूचना अधिकारी गुरुदत्त सुवेदीले एक विज्ञप्ति जारी गर्दै कारबाहीको चेतावनी दिए ।

विभागले विज्ञप्तिमा भनेको छ,'इजाजतपत्र प्राप्त संस्थाहरूले कुनै पनि व्यक्ति वैदेशिक रोजगारीमा जानका लागि छनोट नहुँदै राहदानी लिने, वैदेशिक रोजगारीमा नपठाउने र राहदानी लिन जाँदा सेवा शुल्क माग्नेजस्ता गुनासोहरू विभागमा प्राप्त हुने गरेकोले त्यस्तो कार्यहरू नगर्न/नगराउन हुन अनुरोध छ।'

विभागले वैदेशिक रोजगारीका लागि विज्ञापनमा उल्लेख गरिएअनुसारको मिति र समयमा अन्तर्वार्ता लिन पनि भनेको छ ।

तोकेको मितिमा अन्तर्वार्ता नगराउने र सार्ने तथा उक्त समयमा आवेदक जाँदा कार्यालय बन्द समेत हुने गरेको गुनासो विभागमा आएको विज्ञप्तिमा उल्लेख छ ।

त्यस्तो कार्य नगरेर विज्ञापन बमोजिम अन्तर्वार्ता गराउन समेत विभागले सचेत गराएको हो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077