Online Nepal
  • बिहिबार, ३ असोज २०८१
  • ११ दिनसम्म पनि भेटिएनन् सिमलताल घटनामा हराएका २ बस र ३४ यात्रु

    ११ दिनसम्म पनि भेटिएनन् सिमलताल घटनामा हराएका २ बस र ३४ यात्रु

    अनलाइन नेपाल
  • सोमबार, ७ साउन २०८१
  • 348
    SHARES

    काठमाडौं । चितवनको भरतपुर महानगरपालिका–२९ स्थित नारायणगढ–मुग्लिङ सडकखण्डको सिमलतालमा घटना भएको आज ११ दिन वितिसकेको छ । सिमतालमा आएको पहिरासँगै बगेर त्रिशूली नदीमा खसेका दुईवटा बस तथा यात्रुको खोजी कार्य अझै पनि तीव्र छ ।

    गृहको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले छिमेकी राष्ट्र भारतको ‘राष्ट्रिय आपदा मोचन बल–नेशनल डिजास्टर रेष्पोन्स फोर्स’ बाट १२ जनाको प्राविधिक टोली नेपाल ल्याएर संयुक्त रूपमा उद्धार जारी राखेको जानकारी दिएको छ ।



    भारतबाट समेत गोताखोरसहितको १२ जनाको टोली र नेपालको सशस्त्र प्रहरीको तालिम प्राप्त टोली, नेपाली सेना, नेपाल प्रहरी मिलेर खोजी गरिरहेका छन्, तर पछिल्लो तीन दिनयता खोजी टोलीले न बस न त हराइरहेका यात्रु, केही भेट्न सकेको छैन ।



    प्राधिकरणका प्रवक्ता डा डिजन भट्टराईले शनिबार चितवनका प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा जिल्ला सुरक्षा समिति र भारतीय प्राविधिक टोलीबीच संयुक्त बैठक बसी आइतबार बिहानदेखि खोजी कार्य सुरु भएको जानकारी दिए ।

    आइतबार बिहान ८ः४५ बजेदेखि सोनार क्यामरासहित खोजी कार्य थालेको संयुक्त टोलीले सिमलतालदेखि घुमाउनेसम्म करिब ३ दशमलव ५ किलोमिटर र देवघाटदेखि काभ्रेघाटसम्म करिब १० किलोमिटर क्षेत्रमा खोजी कार्य गरेको उनले जानकारी दिए । उनका अनुसार टोलीले आज साँझसम्म घुमाउनेदेखि देवघाटसम्म करिब १६ किलोमिटर क्षेत्रमा खोजेको थियो ।

    प्राधिकरणले आज एक विज्ञप्ति जारी गरी विपद्को यस्तो विषम अवस्थामा दक्ष प्राविधिकको टोली पठाइ खोजी कार्यमा सहयोग उपलब्ध गराएकोमा भारत सरकार र खोजी कार्यमा संलग्न उद्धारकर्ताप्रति धन्यवाद दिएको छ ।

    उक्त दुःखद घटनामा परी हराइरहेका यात्रुमध्ये हालसम्म २५ वटा शव प्राप्त भएको छ । भेटिएका शवमध्ये दुई वटा भारतीय भूमिमा भेटिएका हुन् । हालसम्म १८ वटा शव सनाखत भइ परिवारको जिम्मा लगाइएको छ ।

    सनाखत भएका शवमा १६ वटा पुरुषको छ भने दुई वटा महिलाको छ । त्यस्तै, सनाखत भएका शवमध्ये १३ नेपाली नागरिकका छन् भने पाँच वटा भारतीय नागरिकका रहेको प्राधिकरणले जनाएको छ ।

    असार २७ गते भरतपुर-२९ सिमलतालमा माथिबाट खसेको लेदोसहितको पहिरोले काठमाडौंबाट गौर जाँदै गरेको गणपती यातायातको ३६ यात्रु बोकेको बस र वीरगञ्जबाट काठमाडौं जाँदै गरेको २६ यात्रु बोकेको एञ्जल डिलक्स यातायातको बसलाई एकै पटक त्रिशूलीमा खसाएको थियो । गणपती यातायातमा सवार तीन जनाले भने त्रिशूलीमा पौडिएर ज्यान जोगाएका थिए ।

    यस्तो छ जिल्ला प्रशासनको प्रेस विज्ञप्ति

        

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार