Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

इरानमा दोस्रो चरणको राष्ट्रपतीय निर्वाचनको लागि मतदान जारी

एजेन्सी । इरानमा दोस्रो चरणको राष्ट्रपतीय निर्वाचनको लागि मतदान सुरु भएको छ ।

हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएका इरानका इब्राहिम रायसीको उत्तराधिकारीका लागि सुधारवादी उम्मेदवार मसूद पेजेस्कियान र संस्थापन पक्षधर सइद जलिलीबीचको प्रतिस्पर्धाका लागि मतदान सुरू भएको हो।

इस्लामिक गणतन्त्रका सर्वोच्च नेता अयातुल्लाह अली खामेनीले मतदान गरेको इरानको गृह मन्त्रालयले जनाएको छ।

गाजामा जारी युद्धलाई लिएर क्षेत्रीय तनाव बढेको, इरानको आणविक कार्यक्रमलाई लिएर इरानको पश्चिमा मुलुकसँगको विवाद र प्रतिबन्धग्रस्त अर्थतन्त्रको अवस्थाप्रति जनताको असन्तोषको पृष्ठभूमिमा मतदान हुन लागेको हो।

इरानको निर्वाचन आयोगका अनुसार गत हप्ताको पहिलो चरणको निर्वाचनमा एक मात्र सुधारवादी उम्मेदवार पेजेस्कियानले सबैभन्दा बढी अर्थात् ४२ प्रतिशत मत प्राप्त गरेका थिए।

पूर्व आणविक वार्ताकार जलिली करिब ३९ प्रतिशत मतका साथ दोस्रो स्थानमा आएका थिए।

इरानको संविधानले व्यवस्था गरे अनुसार कुनै पनि उम्मेदवारको ५० प्रतिशत मत नपुगेको अवस्थामा दुई प्रमुख प्रतिस्पर्धीबीच निर्वाचन गर्ने व्यवस्था छ।

गत निर्वाचनमा छ करोड १० लाख इरानी मतदातामध्ये ४० प्रतिशतले मात्र मतदान गरेका थिए। यो सन् १९७९ को इस्लामिक क्रान्तिपछि कुनै पनि राष्ट्रपतीय चुनावमा भएको सबैभन्दा कम मतदान हो।

इरानका सर्वोच्च नेता खामेनीले पहिलो चरणमा सहभागिता ‘अपेक्षित रूपमा नभएको’ तर यो ‘प्रणालीविरुद्धको कार्य’ नभएको बताएका छन्।

गत साता भएको मतदानमा कन्जरभेटिभ संसदका सभामुख मोहम्मद बघेर गालिबाफ १३.८ प्रतिशत मतका साथ तेस्रो स्थान प्राप्त गरेका थिए भने मौलवी मुस्तफा पोरमोहम्मदीले एक प्रतिशतभन्दा कम मत प्राप्त गरेका थिए।

इरानमा सन् २०२५ मा राष्ट्रपति को चुनाव हुने तय भएको थियो तर मे महिनामा हेलिकप्टर दुर्घटनामा अतिरूढिवादी राष्ट्रपति रायसीको निधन भएपछि यो निर्वाचन अघि सारिएको थियो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077