Online Nepal
  • शनिबार, १९ असोज २०८१
  • सेना र हुथी विद्रोहीबीच झडप हुँदा १८ लडाकूको मृत्यु

    सेना र हुथी विद्रोहीबीच झडप हुँदा १८ लडाकूको मृत्यु

    अनलाइन नेपाल
  • बिहिबार, २४ जेष्ठ २०८१
  • 444
    SHARES

    एजेन्सी । यमनको दक्षिणपश्चिम क्षेत्रमा सरकारी सेना र इरान समर्थित हुथी विद्रोहीबीच भएको भिडन्तमा कम्तीमा १८ लडाकूको मृत्यु भएको छ ।

    सरकारसम्बद्ध पृथकतावादी समूह र दक्षिणी सङ्क्रमणकालीन परिषद्का अनुसार लाहिज प्रान्तको सरकार नियन्त्रित भाग र ताइज प्रान्तको हुथी नियन्त्रित प्रभावित क्षेत्रमा हुथीले आक्रमण गरेपछि झडप भएको हो ।



    सन् २०२२ को अप्रिलमा संयुक्त राष्ट्रसङ्घको मध्यस्थतामा भएको छ महिना लामो युद्धविरामको समयावधि सकिएपछि जारी द्वन्द्वमा कमी आएको थियो तर अकस्मात यो आक्रमण भएको छ ।



    एक वरिष्ठ कमाण्डरसहित १३ जना विद्रोही मारिएका छन् । यमनको अन्तर्राष्ट्रिय मान्यता प्राप्त सरकारले हुथी आक्रमणलाई ‘विश्वासघाती आक्रमण’ को संज्ञा दिएको छ ।

    सामाजिक सञ्जाल एक्समा एक वक्तव्य जारी गर्दै सूचनामन्त्री मोअम्मर अल–एरियानीले यमनको सरकारी सेनाको जवाफी आक्रमणले हुथी लडाकूहरूलाई ठूलो क्षति पुर्‍याएको बताएका छन् ।

    यमनमा युद्धविराम सहमतिपछि शत्रुता कम भएपनि देशका केही भागहरूमा कहिलेकाहीँ छिटपुट लडाइँहरू भड्किएका छन् । गत अप्रिलमा हुथी विद्रोहीसमूहले लाहिज प्रान्तमा गरेको आक्रमणमा यमन सरकारप्रति वफादार ११ जना लडाकू मारिएका थिए ।

    हुथी विद्रोहीले सन् २०१४ मा यमनको राजधानी सानालाई आफ्नो नियन्त्रणमा लिएपछि त्यसको अर्को वर्ष साउदी अरबको नेतृत्वमा सैन्य हस्तक्षेप भएको थियो । नौ वर्षको युद्धको प्रत्यक्ष र अप्रत्यक्ष कारणले हजारौँको मृत्यु भएको छ र यसले संसारको सबैभन्दा खराब मानवीय सङ्कट निम्त्याएको छ ।

    गत डिसेम्बरमा यमनका लागि संयुक्त राष्ट्रसङ्घका दूत हान्स ग्रुन्डबर्गले युद्धरत पक्षहरूले नयाँ युद्धविरामका लागि प्रतिबद्धता जनाएको र द्वन्द्व अन्त्यका लागि संयुक्त राष्ट्रसङ्घको नेतृत्वमा शान्ति प्रक्रियामा संलग्न हुन सहमत भएको बताएका थिए ।

    तर गत नोभेम्बरदेखि रेड सीमामा हुथीले पानीजहाजमा गरेको आक्रमणपछि शान्ति प्रक्रिया अवरुद्ध भएको छ, यो अभियान गाजा युद्धका बीच प्यालेस्टिनीहरूप्रति ऐक्यबद्धता जनाउन गरिएको आक्रमण भएको विद्रोहीहरूले बताएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार