काठमाडौं । नेपाली कांग्रेसकी सांसद रमा कोइरालाले सरकारले संसदलाई कम्युनिस्ट पार्टीको ब्यारेकजस्तो बनाएको आरोप लगाएकी छन् ।
मंगलबार प्रतिनिधिसभा बैठकमा विशेष समयमा बोल्दै सांसद कोइरालाले यस्तो बताएकी हुन् ।
सांसद कोइरालाले सहकारीको रकम अपचलनको विषयमा गृहमन्त्रीमाथि संसदीय छानबिनको माग गर्दै कांग्रेसले संसद अवरोध गरेका बेला सत्तारुढ दलको भूमिकामाथि प्रश्न उठाईन् ।
उनले कांग्रेसले वेल घेराउ गरेर शान्तिपूर्ण रुपमा संसद अवरोध गर्दा देखिएको दृश्यले कम्युनिस्ट शासनको रिहर्सल गर्न खोजेको जस्तो देखिएको बताईन् ।
सांसद कोइरालाले भनिन्, ‘शान्तिपूर्ण तरिकाले वेल घेराउ गरिरहँदा यस्तो दृश्य देखियो जुन दृश्यले दुनियाँ हासेको छ । यो संसद लोकतान्त्रिक मुलुकको संसद थियो कि एउटा कम्युनिस्ट पार्टीले सञ्चालन गर्ने ब्यारेक थियो मैले बुझ्न सकिन ।’
गृहमन्त्रीमाथि छानबिनको माग गरेर कांग्रेसले अवरोध गरेका बेला सभामुख देवराज घिमिरेले संसदलाई कार्यसूचीमा अगाडि बढाएका थिए ।
सत्तारुढ दलका सांसदहरुले वेलमा बाटो बनाउँदै प्रधानमन्त्री र मन्त्रीलाई रोष्ट्रममा पुर्याएका थिए ।
सांसद कोइरालाले त्यो घटना कम्युनिस्टहरुको शासन चलाउने रिहर्सल त होइन भन्ने प्रश्न गर्दै आगामी दिनमा यस्तो नगर्न आग्रह गरेकी छन् ।