रामेछाप । रामेछाप एमालेको जिल्ला अधिवेशन सकिएर नवनिर्वाचत पदाधिकारीहरुको शपथ ग्रहण नहुँदै विवाद शुरु भएको छ ।
विवादको शुरुवात एमाले रामेछाप इञ्चार्जसमेत रहेका सिन्धुलीका नेता गणेश पहाडीबाटै भएको बताइएको छ ।
गत बैशाख २६ मा शुरु भएर बिना विवाद शालिन ढंगले सम्पन्न भएको अधिवेशनबाट अध्यक्षमा पुरुषोत्तम कडरिया र सचिव प्रकाश कार्की सर्वसम्मत भएका थिए ।
मुख्य पदमा सर्वसम्मत भएपनि अरु थुप्रै जिम्मेवारीहरुमा चुनाव भएको थियो ।
तर इञ्चार्ज पहाडी र नेकपा एमाले वागमती प्रदेश अध्यक्ष समेत रहेका रामेछापकै नेता कैलास ढुंगेलको सबैलाई समेट्ने भन्दा पनि गुट बनाएर अघि बढ्नै शैलीका कारण अहिले नवनिर्वाचित कमिटी विवादमा परेको हो ।
अधिवेशन सकिएको दुई हप्ताभन्दा बढी भइसक्दा पनि यी नेताकै योजनामा शपथग्रहण गराइएको छैन । शपथ ग्रहण समारोहलाई जिल्लाका सबै एमालेका नेताहरुलाई बोलाएर भव्य र सहभागीतामूलक बनाउनुको सट्टा पहाडी र ढुंगेलले गुटगत ढंगले सम्पन्न गर्नका लागि ढिलाई गरिरहेका बताइएको छ ।
शपथग्रहण समारोह अधिवेशनमा भएका कतिपय तीक्तता र विभाजित मानसिकतालाई समेत बिर्साउनेगरी सबैको सहभागीतामा गराउँदा निर्वाचित कमिटीलाई समेत पूरै कार्यकाल कामगर्न सहज हुनसक्छ ।
तर पहाडी र ढुंगेल शपथग्रहण कार्यक्रममा जिल्लाका अरु प्रभावशाली नेताहरुको उपस्थिति बिना नै आफू मात्र सहभागी भएर गराउने संकीर्ण मानसिकता पालेर बसेका छन् ।
त्यसैले उनीहरुले अधिवेशन सकिएको हप्तौं पछि एमाले पार्टीकै केन्द्रीय स्तरको कार्यक्रम भएको दिन शपथ कार्यक्रम राखेका छन् ।
नेकपा एमालेले जेठ १६ गते राष्ट्रिय महिला भेला राखेको छ । यसमा पार्टी अध्यक्ष केपी ओली र पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
पार्टीका राष्ट्रय स्तरका कार्यक्रममा प्राय नेताहरु सहभागी हुन्छन् नै । तर पहाडी र ढुंगेलले सोही दिन शपथग्रहण कार्यक्रम राखेर पार्टीमा नयाँ विवाद निम्त्याएका हुन् ।
नवनिर्वाचित कमिटीलाई समयमै शपथ नगराउँदा पुरानो विघटन भइसकेको र नयाँले जिम्मेवारी नपाएको कारण रामेछाप एमाले अहिले तदर्थ अवस्थामा रहेको छ । कमिटीका सबै कामहरु बैशाखको अन्तिमदेखि नै निलम्बित अवस्थामा रहेका छन् ।
इञ्चार्ज पहाडीकै व्यस्तताका कारण शपथ कार्यक्रम हुन नसकेको नवनिर्वाचित एक पदाधिकारीले बताए ।
यता पहाडी भने प्राय रामेछापकै चर्चित ठेकेदार तथा एमाले नेता रत्न गौतमसँग दैनिक झैं वानेश्वरस्थित इन्द्रेणी सुइट होटल र होटल एभरेष्ठको कफी कक्षमा घण्टौं गफिने गरेका पाइएको छ ।
गौतम तिनै नवधनाढ्य ठेकेदार हुन् जसले केही वर्षअघि प्रदेश संसदको टिकट नपाएको झोकमा पेटी ठेकेदार केटाहरुलाई लगाएर कैलास ढुंगेललाई अपहरण गरी हलचल मच्चाएका थिए ।