एजेन्सी । हेलिकप्टर दुर्घटनामा मृत्यु भएका इरानी राष्ट्रपति इब्राहिम रायसीको अन्त्येष्टि समारोह सुरु भएको छ ।
हेलिकप्टर दुर्घटनास्थल उत्तरपश्चिमी सहर तब्रिजमा राष्ट्रपति रायसीसँगै मृत्यु भएका हरुको अन्त्यष्टी जुलुस सुरु भएको हो । जुलुसमा सहभागी हुनेको ठूलो भीड रहेको छ ।
राष्ट्रपति रायसीको अन्त्येष्टि मे २३ मा देशको उत्तरपूर्वी सहर मशहादमा हुने उपराष्ट्रपति मोहसेन मन्सुरीले घोषणा गरेका थिए ।
इमाम रेजाको समाधिमा बिहीबार साँझ अन्तिम संस्कार गरिने छ । मुख्य तीर्थस्थलमध्ये एक इमाम रेजा राष्ट्रपति रायसीको गृहनगर मशहदमा अवस्थित छ ।
मृतकका शव पवित्र सहर कोमको पवित्र तीर्थस्थलबाट जमकरन मस्जिदमा पठाइनेछ, त्यसपछि राजधानी तेहरान लगिनेछ । तेहरानको ग्रान्ड मोसल्लाह मस्जिदमा बुधबार ठूला समारोह आयोजना गरिएको छ ।
त्यसपछि राष्ट्रपति रायसीको पार्थिव शरीरलाई मशहदको ऐतिहासिक इमाम रेजा मन्दिरमा सारिनेछ जहाँ इरानका सर्वोच्च नेता आयातोल्लाह खमेनीले प्रार्थना गर्नेछन् । खमेनीले सोमबार पाँच दिनको शोकको घोषणा गरेका हुन् ।
देशभरका कार्यालय बन्द गरी सार्वजनिक बिदाको घोषणा गरिएको छ । इरानले जुन २८ मा राष्ट्रपति रायसीको उत्तराधिकारीका रूपमा नयाँ राष्ट्रपति चयन गर्ने सरकारी मिडियाले जनाएको छ ।
न्यायपालिका, सरकार र संसदका प्रमुखको बैठकको निर्णयले राष्ट्रपति रायसीको उत्तराधिकारी चयनका लागि मतदान गर्ने निर्णय गरेको हो । उम्मेदवारी दर्ता मे ३० देखी जुन ३ सम्म हुने र चुनावी अभियान अवधि जुन १२ देखि २७ सम्म हुने राज्य सञ्चालित समाचार एजेन्सी इरनाले मङ्गलबार जानकारी गराएको छ ।
साथै, हेलिकप्टर दुर्घटनाको अनुसन्धान सुरु भएको छ । इरानी सशस्त्र बलका चिफ अफ स्टाफ मेजर जनरल मोहम्मद बघेरीले मुद्दाको अनुसन्धान गर्न उच्चस्तरीय प्रतिनिधिमण्डल नियुक्त गरेको सरकारी मिडियाले जनाएको छ ।
ब्रिगेडियर अली अब्दुल्लाहीको नेतृत्वमा प्रतिनिधिमण्डललाई घटनास्थलमा पठाइएको, अनुसन्धान सुरु भइसकेको र मिसन पूरा भएपछि अनुसन्धानको नतिजा घोषणा गरिने इरनाले जनाएको छ ।
इरानको संविधानअनुसार सर्वोच्च नेता आयातोल्लाह खामेनीले इरानका प्रथम उपराष्ट्रपति मोहम्मद मोखबरलाई देशको कार्यवाहक राष्ट्रपतिको रूपमा नियुक्त गरेका छन्।
मे १९ मा उत्तरपश्चिमी इरानको दुर्गम क्षेत्रमा हेलिकप्टर दुर्घटना हुँदा ६३ वर्षीया राष्ट्रपति रायसी, विदेश मन्त्री हुसेन अमिराबदोल्लाहियान र अन्य सात जनाको मृत्यु भएको थियो ।
इरानमा सन् २०२५ मा राष्ट्रपतीय निर्वाचन हुने तय भएको थियो । उपराष्ट्रपति मोहम्मद मोखबरलाई अन्तरिम जिम्मेवारीमा नियुक्त गरिएको छ र इरानको मन्त्रिपरिषद्ले उपविदेश मन्त्री अली बघेरी कानीलाई कार्यवाहक विदेशमन्त्रीको रूपमा नियुक्त गरेको छ ।
Leave a Reply