Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

२०४७ देखिका काण्डहरुको छानबिन गर्न उच्चस्तरीय समिति बनाऔं : स्वर्णिम वाग्ले

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति स्वर्णिम वाग्लेले प्रतिसोध साध्न कांग्रेसले सहकारी ठगीमा छानबिन समिति माग गरिरहेको आरोप लगाएका छन् ।

मंगलबार संसद् भवन परिसरमा बोल्दै उपसभापति वाग्लेले रास्वपाको उदय भएको १ वर्षमै सबै बेथिति देखा परेकोजस्तो भाष्य कांग्रेसले बनाउन खोजेको बताएका हुन् ।

वाग्लेले कांग्रेसले एक जना व्यक्ति खुइल्याउन सहकारी ठगीमा छानबिन समिति माग गरेको बताए ।

उपसभापति वाग्लेले भने,'विगत ३४ वर्षमा भएका काण्डै काण्डका भकारीलाई एकातिर राखौँ, भर्खर १ वर्षअघि उदाएको रास्वपाकै कारणले मुलुक बेथितितर्फ गएको हो भन्ने भाष्य बनाउन खोजियो । व्यक्ति खुइल्याउने, प्रतिसोध साध्ने विधि र औजारका रूपमा संसदीय छानबिन समितिको दुरुपयोग गर्नु हुँदैन ।'

कांग्रेसले गृहमन्त्री एवं पार्टी सभापति रवि लामिछानेलाई खुइल्याउन समिति माग गरेको पनि उपसभापति वाग्लेको दाबी छ ।

केही समयअघि कांग्रेस महामन्त्री गगन थापाले नै एमालेले सदन अवरुद्ध गर्दा संसदीय छानबिन समिति चाहिँदै भनेको पनि वाग्लेले बताए ।

रास्वपा २०४७ सालयताका सबै भ्रष्टाचारहरू छानबिन गर्न स्वतन्त्र समितिको पक्षमा रहेको पनि उपसभापति वाग्लेले बताए ।

सहकारी पीडितका समस्या र सरोकारसँग कांग्रेसलाई कुनै सरोकार नभएको पनि उनको दाबी छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077