काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीमाथि पोखरा, भैरहवा र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ठेक्कामा अरबौं भ्रष्टाचार गरेको उजुरीमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गरेपछि उनी संवैधानिक निकायका पदाधिकारी नै हटाउने चलखेलमा लागिरहेको खुलेको छ ।
बिचौलियाहरु लगाएर प्रलोभन दिनेदेखि राजनीतिक नेतृत्वमार्फत् दबाब दिँदा पनि उनले पोखरा विमानस्थलमा गरेको नांगो भ्रष्टाचारमा अख्तियारले गहन छानबिन सुरु गरी उनलाई बिहीबारदेखि बयान लिइरहेको छ ।
अख्तियारले तीनवटै विमानस्थल निर्माणमा भएको अरबौं भ्रष्टाचारको छानबिन तीव्र बनाएपछि उनी निकै हतास भएर संवैधानिक निकायका पदाधिकारीका बिरुद्ध विचाराधीन मुद्दामा प्रभाव पार्नका लागि शक्तिकेन्द्रदेखि बिचौलियाहरुको शरणमा पुगिरहेको सूचना सरकारका बिभिन्न अंगले पाएका छन् ।
अदालतबाट संवैधानिक निकाय बिशेषतः अख्तियारका पदाधिकारीको नियुक्ति खारेज गराउने र आफू अनुकूलका आयुक्त र प्रमुख आयुक्त नियुक्ति गराउने खेलमा डीजी अधिकारी लागेका छन् ।
चोलेन्द्रशमशेर राणाको जस्तो न्यायालयको नेतृत्व अहिले छैन । स्वच्छ छविका र निर्भीक प्रधाननन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको नेतृत्वको न्यायालयमा प्रभाव पार्न उनले धेरै कोसिस पनि गरे ।
तर उनको त्यो योजनाले मूर्तरुप पाउन सकेको छैन । पोखरा विमानस्थलको निर्माणमै अरबौं भ्रष्टाचार गरेका उनले बालुवाटारलाई प्रभावमा पारी पर्यटन मन्त्री सुदन किराँतीलाई मन्त्रीबाट हटाउन सफल भए ।
माओवादी केन्द्रका सबै मन्त्री दोहोरिने तर किराँतीमात्र हटाउन सफल भएकोमा उनले भोज नै गरेको समाचार मिडियामा आए । राजनीतिक दलका शीर्षनेताका वरिपरिका सबैलाई आफ्नो पक्षमा पारेकै थिए र छन् ।
अब अदालतबाट संवैधानिक नियुक्ति खारेज गराउने र त्यसमा आफू अनुकूलका पदाधिकारी नियुक्ति गराउने दाउमा डीजी अधिकारी थिए । ‘छोरो पाउनु कहिले कहिले ….बाट्नु अहिले’ भनेजस्तै अदालतले मुद्दा खारेज नगर्दै प्रदीप अधिकारीले भने अख्तियारमा नियुक्ति हुने पदाधिकारीको सूची समेत बनाएका थिए ।
उनको सूचीमा अख्तियारको प्रमुख आयुक्तमा पूर्वमुख्यसचिव शंकरदास बैरागी खनाल, आयुक्तहरुमा पूर्व कानून सचिव धनराज ज्ञवाली, नेपाल प्रहरीका पूर्वआईजीपी धिरजप्रताप सिंह र सशस्त्र प्रहरी बलका पूर्वआईजीपी शैलेन्द्र खनाल, पूर्व गृहसचिव महेश्वर न्यौपाने रहेको स्रोतको दाबी छ ।
डीजी अधिकारी संवैधानिक निकायका नियुक्ति खारेज कसरी गराउन सकिन्छ, न्यायालयमा कसरी प्रभावमा पार्न सकिन्छ भनेर दैनिकजसो राष्ट्रिय सुरक्षा परिषदको सचिवालयमा शंकरदास बैरागीसँग घन्टौंसम्म छलफल गर्थे ।
बैरागीलाई मुख्यसचिवबाट प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुरक्षा सल्लाहकारमा नियुक्ति दिएका थिए । बैरागी मुख्यसचिव हुँदै प्राय : दैनिकजसो उनी भेट्न जान्थे ।
सुरक्षा सल्लाहकार भएपछि पनि उनी प्रायः सुरक्षा परिषदको कार्यालयमा बैरागीसँग घन्टौं बसेर छलफल गर्ने गरेका थिए । सुरक्षा सल्लाहकार कार्यकारी पद नभए पनि डीजी अधिकारी त्यहाँ किन जान्थे, घन्टौं के–के छलफल गर्थे ? स्रोत भन्छ, ‘उनी अख्तियारका पदाधिकारीको नियुक्ति खारेज गराउने एकमात्र मिसनमा लागेका थिए, त्यही भएर बैरागीकोमा उनी बारम्बार जाने गर्दथे ।’
अधिकारीले अख्तियारमा नियुक्ति गर्ने पदाधिकारीको सेट नै तयार गरे पनि अदालतले पेशी ३ महिना सारेपछि उनी निकै हतास छन् । अख्तियारले बिहीबारदेखि लगातार बयान लिएपछि उनी झन् आत्तिएर एमालेका नेताहरुको शरणमा पुगेका छन् ।
१२ अर्बमा निर्माण हुने पोखरा विमानस्थलकाे लागत अस्वभाविक बढाएर २४ अर्ब पुर्याएका डीजी अधिकारीले अरबौं भ्रष्टाचार त गरे नै निर्माणमै त्रुटि देखिएका तथ्यहरु बाहिरिएका छन् ।
चीन सरकारको चर्को ब्याजमा ऋण लिएर बनाएको पोखरा विमानस्थलको निर्माणमै त्रुटि भएपछि संचालनमा अएको एक बर्षसम्म अन्तर्राष्ट्रिय उडान नै हुन सकेको छैन । पोखरा विमानस्थलको १२ अर्ब लागत बढाएर २४ अर्ब पुर्याए पनि निर्माणमा चरम लापरबाही भएकाले अन्तर्राष्ट्रिय हवाई कम्पनीहरुले उडान संचालनमा रुची देखाएका छैनन् ।
पोखरा विमानस्थलको लागत अस्वभाविक रुपमा बृद्धि गरी २४ अर्ब रुपैयाँ पुर्याइएकोबारेमा अख्तियारले छानबिन गरिरहेको छ ।अर्कोतिर नेपाल नागरिक उड्डयन प्राधिकरणका तत्कालीन आयोजना प्रमुख तथा हालका महानिर्देशक अधिकारीले ठेकेदार कम्पनीसँगको मिलेमतोमा धावनमार्ग धसाएर बनाएकै कारण १० मिटर बढी डाँडा काटिएको मात्रै छैन जापान इन्टरनेसनल कोअपरेसन एजेन्सी (जाईका)ले करिब ४ अर्ब ३४ करोड रुपैयाँ खर्चिएर बनाएको खानेपानीको ट्यांकी पनि भत्काउनुपर्ने अवस्था नित्याइएको छ ।
मिलेमतोमा विमानस्थलको धावनमार्ग धसाईंदा ३० मिटर काटे पुग्ने धावनमार्गको पूर्वपट्टिको रिट्टेपानी डाँडा ४० मिटर काट्नुपरेको छ भने पोखराको कोलपाटनमा बनिसकेको खानेपानीको ट्यांकसमेत भत्काउनुपर्ने भएको छ ।
यो पानी ट्यांकी ३१ मिटर अग्लो हुने गरी निर्माण भइरहेको थियो । तर, प्राधिकरणले विमानस्थल बनाउँदा गरेको गम्भीर लापरबाही तथा आर्थिक अपचलनको शिकार पानी ट्यांकी हुन पुगेको छ ।
पोखरा विमानस्थल संचालनमा आएको एक बर्षसम्म पनि अन्तर्राष्ट्रिय उडान हुन सकेको छैन । पोखरा विमानस्थलबाट बोइङ–७३७ र न्यारोबडी जहाजले पूर्ण क्षमतामा उडान गर्न नसक्ने भएकाले पनि अन्तर्राष्ट्रिय उडान गर्न ब्यवसायिक हवाई कम्पनीहरुले रुची देखाउन सकेका छैनन् ।
विमानस्थलको निर्माणमै त्रुटि नै त्रुटि भएकाले अन्तर्राष्ट्रिय उडान गर्न हवाई कम्पनीहरुले चासो नराखेको खुलेको छ । चीनको एक्जिम बैंकको २२ अर्ब रुपैयाँ २ प्रतिशत ब्याजमा र २ अर्ब अनुदान गरी २४ अर्ब लागतमा निर्माण भएको पोखरा विमानस्थलको लागत अनुमान अस्वभाविक रुपमा बृद्धि गर्दा ठूलो आर्थिक चलखेल गरिएको बिषयलाई अख्तियारले गम्भीररुपमा लिएको छ भन्ने संकेत कागजात नियन्त्रणमा लिएपछि पुष्टि भएको छ ।
आयोजना प्रमुख अधिकारीले पोखरा विमानस्थलको ठेक्का सेटिङमा चिनियाँ कम्पनी सीएएमसी इन्जीनीयरीङ कम्पनीलाई दिएका थिए ।
सीएएमसी इन्जीनीयरीङ कम्पनीसँग नेपाली ठेकेदार कम्पनी क्षमादेवी कन्ष्ट्रक्सनलाई जेभीमा राख्ने चाँजोपाँजो पनि प्रदीप अधिकारीले नै मिलाएका थिए । प्रदीप अधिकारीको सेटिङमा क्षमादेवी कन्ष्ट्रक्सनलाई जेभी राखिएको थियो । क्षमादेवीका राजकुमार बस्नेतसँग अधिकारीको सेटिङ चल्दै आएको छ ।
पोखरापछि प्राधिकरणका महानिर्देशक अधिकारीले केही महिनाअघि गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवाको ४ अर्ब ७० करोडको ठेक्का पनि क्षमादेवीलाई नै दिएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ठेक्कामा ठूलो चलखेल गरी सेटिङमै दिएको बिषयमा पनि अख्तियारमा उजुरी छ ।
Leave a Reply