काठमाडौं । संघीय संसद् सचिवालयले मंगलबार बिहान ११ बजेका लागि तय भएको राष्ट्रियसभा बैठकको सम्भावित कार्यसूची सार्वजनिक गरेको छ।
संसद् सचिवालयले राष्ट्रियसभा अध्यक्षको निर्वाचन हुने उक्त बैठकका लागि चार वटा सम्भावित कार्यसूची तय गरेको हो ।
संघीय संसदका महासचिव पद्म प्रसाद पाण्डेयका अनुसार अध्यक्ष पदको निर्वाचनका सम्बन्धमा आनन्द प्रसाद ढुंगानाले युवराज शर्मालाई राष्ट्रियसभाको अध्यक्ष पदमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव सभासमक्ष प्रस्तुत गर्नेछन्।
यस्तै गोपी बहादुर सार्की आछामीले नारायण प्रसाद दाहाललाई राष्ट्रियसभाको अध्यक्ष पदमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव सभा समक्ष प्रस्तुत गर्नेछन् ।
त्यसपछि सभाको अध्यक्षका गर्ने उपाध्यक्ष उर्मिला अर्यालले दुवै प्रस्तावहरूलाई निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची तय गरिएको छ ।
निर्वाचन कार्यक्रमअनुसार सोमबार शर्मा र दाहालले अध्यक्ष पदमा आ–आफ्नो उम्मेदवारी दर्ता गराएका थिए ।
निर्वाचन सकिएपछि आगामी आर्थिक वर्षका लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि सभामा छलफल हुने पाण्डेयले जनाएका छन् ।