काठमाडौं । राष्ट्रियसभाका अध्यक्षसहित २० सांसद आज आइतबारबाट बिदा हुँदै छन् । ६ वर्षे कार्यकाल समाप्त भएपछि अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासहित २० सांसद बिदा हुन लागेका हुन् ।
२०७४ सालमा निर्वाचित एमालेबाट अध्यक्षसहित ८, कांग्रेसका ४, माओवादी केन्द्रका ३, नेकपा एसबाट २, जसपाबाट १, स्वतन्त्र १ र राष्ट्रपतिबाट मनोनीत विमला राई पौडेल समेत गरी २० सांसद बिदा हुन लागेका छन् ।
आइतबार बिदाइ हुनेहरूमा अध्यक्ष तिमिल्सिना, एमालेका दीपा गुरुङ, इन्दु कडरिया, दिलकुमारी रावल थापा, पार्वती कुमार दसौंदी, नरपति लुवार, भैरवकुमार श्रेष्ठ र रामचन्द्र राई बिदा हुँदै छन् ।
त्यस्तै कांग्रेसका रमेशजंग रायमाझी, अनिता देवकोटा, जितेन्द्रनारायण देव र प्रकाश पन्थ बिदा हुँदै छन् भने माओवादीका विना पोखरेल, हरिराम चौधरी र महेशकुमार महरा बिदा हुँदै छन् ।
यसैगरी नेकपा एसबाट नन्दा चपाईं र सिंगबहादुर विश्वकर्मा, जसपाबाट प्रमिलाकुमारी, स्वतन्त्र सांसद खिमलाल देवकोटा र राष्ट्रपतिबाट मनोनीत विमला राई पौड्याल पनि बिदा हुँदै छन् ।
उनीहरूको ठाउँमा हुने रिक्तता पूर्तिका लागि यसअघि नै माघ ११ मा भएको राष्ट्रियसभाको निर्वाचनबाट १९ सदस्य निर्वाचित भइसकेका छन् ।
उनीहरुको सपथ कार्यक्रम फागुन २१ गते राखिएको छ । थप एकजना राष्ट्रपति रामचन्द्र पौडेलले मनोनीत गर्ने छन् ।