Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

कांग्रेस महासमिति बैठकमा जनतालाई केन्द्रमा राखेर काम गर्न सुझाव

काठमाडौं । नेपाली कांग्रेसको महासमिति बैठकमा बोल्ने वक्ताहरुले पार्टीले जनतालाई केन्द्रमा राखेर अगाडि बढ्नुपर्ने बताएका छन् ।

लितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा जारी महासमिति बैठकमा धारणा राख्ने अधिकांश सदस्यहरुले पार्टीबाट टिकट लिई जनप्रतिनिधि भएका सबैले तल्लो तहका जनतालाई केन्द्रबिन्दुमा राखेर हरेक विकास निर्माणका काम अगाडि बढाउनुपर्नेमा जोड दिएका हुन् ।

बैठकमा कांग्रेस गोरखाका महासमिति सदस्य प्रकाशचन्द्र दवाडीले पार्टीबाट टिकट लिएर चुनाव जितेपछि जनताको घरदैलोमा जनप्रतिनिधि नपुग्दा समस्या परेको बताए । “पार्टीबाट टिकट लिएर चुनाव जित्ने, त्यसपछि पार्टीको सम्बन्ध र जनताको समस्यालाई सुन्दै नसुन्ने प्रवृत्ति देखिएकाले पार्टीलाई समस्या देखिएको हो”, उनले भने ।

महासमिति सदस्य दवाडीले केन्द्रीय नेता स्थानीय तहबाट प्रतिनिधि भएर आउँदा कार्यकर्तामासमेत खुसी छाउने भएकाले सो व्यवस्था विधानमा गरिनुपर्ने बताए । एक व्यक्ति, एक पदको व्यवस्था गर्नुपर्ने उनको भनाइ थियो ।

कांग्रेस चितवनका सभापति राजेश्वर खनालले राजनीतिलाई विकाससँग जोड्न सकेमात्र पार्टी बलियो हुने बताए । पार्टीलाई शिक्षा, रोजगारी र कृषिलाई जोडेर लैजाँदा जनशक्ति व्यवस्थापनमा सहज हुने उनको भनाइ थियो ।

कांग्रेस धनकुटा सभापति दिनेश राईले कोशीमा प्रदेश नामाङ्कको विषय पेचिलो बन्दै गएको भन्दै उक्त विषयमा पार्टीले आधिकारिक धारणा सार्वजनिक गर्नुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077