काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वातावरणीय जागरणका निम्ति शनिबार गुह्येश्वरी–धाप बाँधको यात्रा गरेका छन् ।
एमाले काठमाडौं जिल्ला कमिटीको आयोजनामा पूर्वप्रधानमन्त्री ओलीको नेतृत्वको टोलीले पशुपति–गुह्येश्वरीबाट वाग्मती करिडोर–सुन्दरीजल हुँदै आलापोटसम्मको यात्रा गरेको हो ।
यात्राका क्रममा अध्यक्ष ओलीले काठमाडौं उपत्यकामा पानीका स्रोतको व्यवस्थापन गर्ने र नदीहरूलाई सफा बनाउन यस्ता बाँध निर्माण अगाडि बढाउन अत्यावश्यक भएकाले त्यसतर्फ अविलम्ब लाग्न सरकार र सम्बन्धित निकायलाई घच्घच्याउन स्थानीयलाई आग्रह गरे ।
अध्यक्ष ओली प्रधानमन्त्री हुँदा उक्त बाँध निर्माण गर्न त्यहाँ सांस्कृतिक, धार्मिक र प्राकृतिक पर्यटन प्रवर्द्धनका निम्ति विस्तृत परियोजना प्रतिवेदन तयार गरिएको थियो । त्यसानुसार परियोजना कार्यान्वयन सिँचाइ एकाइ सञ्चालनमा आएको छ ।
गोकर्णेश्वर नगरपालिका–१ स्थित २४ मिटर उचाइको हुने बाँध त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ३४ किलोमिटर दूरीमा पर्छ ।
एमाले जिल्ला कमिटीका अध्यक्ष दीपक निरौलाले बाँध निर्माण सम्पन्न गर्न सरकारलाई सुझाव दिने र जनदबाब सिर्जना गर्ने उद्देश्यका साथ यात्रा गरिएको जानकारी दिए । रासस