काठमाडौं । काठमाडौंमा फोहोर टिप्ने नाममा घरभित्र पसेर चोरी गरेको आरोपमा पाँचजना पक्राउ परेका छन् ।
पक्राउ पर्नेहरूमा काठमाडौं तिलगंगा बस्नेहरू भारत समस्तिपुर मोहदीनगर घर भएका-२६ वर्षीय लक्का भन्ने विकास पोदार, भारत वेगुसराका-२८ वर्षीय जितेन्द्र पोदार, भारत बैशालीका-२७ वर्षीय भाइलाल पोदार, भारत समस्तीपुरका-४० वर्षीय संजय पोदार र सोही ठाउँकी ५० वर्षीय मञ्जु देवी पोदार रहेका छन् ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनीहरूलाई काठमाडौं जडिबुटीबाट पक्राउ गरेको हो ।
प्रारम्भिक अनुसन्धानको क्रममा गोकणेश्वर नगरपालिका-४ माकलवारीस्थित दिलमाया आले मगरको घरबाट माघ २८ गते दिउँसो सुनका विभिन्न गरगहना तथा नगद गरी जम्मा ६५ लाख रूपैयाँ बराबरको धनमाल, बुढानिलकण्ठ नगरपालिका-१० बस्ने दिनेश घिमिरेको घरबाट माघ २४ गते सुन तथा नगद गरी २५ लाख रूपैयाँ बराबरको धनमाल र गोकणेश्वर नगरपालिका-३ बस्ने गिता राईको घरबाट सुनचाँदीका गरगहना तथा नगद समेत गरी ४ लाख १० हजार रूपैयाँ बराबरको धनमाल चोरी भएको घटनामा समेत उनीहरूको संलग्नता रहेको खुल्न आएको छ ।
सो समूहले काठमाडौंका छुट्टाछुट्टै तीन ठाउँबाट गरी झण्डै एक करोड रुपैयाँको धनमाल चोरी गरेको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ । उनीहरूलाई थप अनुसन्धान तथा कारबाहीको लागि प्रहरी वृत्त बौद्ध पठाइएको छ ।
Leave a Reply