Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सुनिल-विकल पक्राउ प्रकरण : चौथो पटक म्याद थप, १० दिन थुनामा राख्ने अनुमति

काठमाडौं । विशेष अदालतले नेपाल टेलिकमका निलम्बित प्रबन्ध निर्देशक सुनिल पौडेल र सुरक्षित मुद्रण केन्द्रका निलम्बित कार्यकारी निर्देशक विकल पौडेललाई थप १० दिन थुनामा राख्न अनुमति दिएको छ ।

गैरकानूनी सम्पत्तिआर्जन गरेको उजुरीको अनुसन्धानमा पक्राउ परेका पौडेलद्वयलाई विशेष अदालतले थप १० दिन थुनामा राख्न अनुमति दिएको हो ।

म्याद थपका लागि बुधबार विशेष अदालतमा पेश भएकोमा थप १० दिन थुनामा राखेर अनुसन्धान अघि बढाउन अनुमति भएको विशेष अदालतका प्रवक्ता धनबहादुर कार्कीले बताए । दुवैजना माघ १० गते पक्राउ परेका थिए ।

नेसनल पेमेन्ट गेटवे खरिद प्रकरणमा पक्राउ परेका सुनिल र विकललाई थुनामा राख्नको लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतबाट चौथो पटक १० दिन राख्ने अनुमति लिएको हो।

यसअघि दुई फरक–फरक भ्रष्टाचार मुद्दामा परेका विकल र सुनिल माथि गैरकानूनी सम्पत्ति आर्जन गरेको, विदेशमा कमिसन लुकाएको लगायतका आरोप छन् ।

सुनिल र विकललाई गैरकानूनी सम्पत्ति आर्जन गरेको भनी परेको उजुरीका सम्बन्धमा अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ । दुवै जनाले नेपाल राष्ट्र बैंकको स्वीकृतिबेगर विदेशी बैंकमा खाता खोली रकम जम्मा गरेको, नेपालको सरकारी सेवामा कार्यरत रहँदाकै अवस्थामा अन्तर्राष्ट्रिय परामर्शदाताको पदमा औपचारिक रूपमा नियुक्ति लिएको भेटिएको अख्तियारको दाबी छ।

विकल पौडेलको हकमा निजले संयुक्त राज्य अमेरिकाको स्थायी आवासीय अनुमतिसमेत लिएको देखिएको र उनीहरूले कसुरसम्बद्ध प्रमाण नष्ट गर्न सक्ने र भागी जाने सम्भावना भएको भन्दै पक्राउ पुर्जी दिई अख्तियारले दुई साता अघि हिरासतमा लिइएको थियो।

अख्तियारले सुनिलविरुद्ध २३ करोड २७ लाख ५८ हजार ७७ रुपैयाँ बिगो र १३ वर्ष कैद मागदाबीसहित विशेष अदालतमा मुद्दा दायर गरेको छ।

त्यस्तै सेक्युरिटी प्रेसका लागि आवश्यक विद्युतीय पूर्वाधार खरिदमा झन्डै ७० करोड भ्रष्टाचार भएको भन्दै अख्तियारले विकल पौडेलविरुद्ध बिगो ६९ करोड ८ लाख ८१ हजार रुपैयाँ बिगो र तीन वर्ष कैद सजायको मागदाबी गरेको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077