काठमाडौं । एसीसी वुमन्स प्रिमियर कप २०२४ को पहिलो खेलमा नेपालले हङकङलाई पराजित गरेको छ ।
मलेसियाको क्वालालाम्पुरस्थित सेलांगुर टर्फ क्लबमा भएको खेलमा नेपालले हङकङविरुद्ध ८ विकेटको जित निकाल्दै सुखद् सुरुवात गरेको हो । जितका लागि हङकङले दिएको ९४ रनको लक्ष्य नेपालले दुई विकेट गुमाएर १४.१ ओभरमै भेट्टायो ।
नेपालको जितका लागि कप्तान इन्दु बर्माले एक छक्का र तीन चौकासहित ४० रनको योगदान गरिन् । सीता रानामगर एक छक्का र एक चौकासहित ३६ रनमा अविजित रहिन् भने कविता कुँवरले ४ रन जोडिन् ।
बलिङतर्फ हङकङकी इक्रा सहर र चानका मन बेट्टीले एकरएक विकेट लिए । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको हङकलले ८ विकेट गुमाएर पूरै २० ओभर खेल्दै ९३ रन बनाएको थियो ।
हङकङकी कप्तान चान का यिंग क्यारीले सर्वाधिक २१ रन बनाइन् । मरियम बिबीले १९, यसमिन दसवानीले १५ र ओपनर नताशा माइल्सले ११ रन बनाइन् । अन्य ब्याटरले दोहोरो अंक जोड्न सकेनन् ।
नेपालकी रुविना क्षेत्र र कविता जोशीले समान दुई/दुई, पुजा महतो र सीता रानामगरले एक/एक विकेट लिए । १६ देशको सहभागिता रहेको प्रतियोगितामा नेपाल समूह डी मा छ ।