काठमाडौं । नेकपा एमाले धादिङ जिल्ला अधिवेशनको बन्दसत्र अनिश्चित भएको छ ।
आन्तरिक विवाद नसुल्झिएपछि आज बिहानदेखि बन्दसत्र सुरु गर्ने भनिए पनि सुरु हुन सकेको छैन ।
बन्दसत्रको अध्यक्ष मण्डलका अध्यक्ष धर्मदत्त देवकोटाले आज बिहान सूचना जारी गर्दै निर्धारित मिति र समयअनुसार बन्दसत्र सुरु हुन नसकेको बताएका छन् ।
उनले केन्द्रीय संगठन विभागबाट निर्देशन प्राप्त हुनासाथ अर्को सूचना जारी गरेर जानकारी गराउने बताए।नेकपा एमालेको धादिङ जिल्ला अधिवेशन यही माघ १९ गते उदघाटन भएको थियो ।
तर बन्द सत्र सुरु हुनु अघि पार्टी अध्यक्ष केपी शर्मा ओली निकट दुई पक्षबीच नेतृत्वको विषयमा विवाद भएपछि अधिवेशन स्थलमा झडप भएको थियो ।
झडपमा परी एकजना कार्यकर्ता सन्तोष खनालको हात भाँचिएको छ ।
एमाले बागमती प्रदेश अध्यक्ष कैलाश ढुंगेलले आइतबार विज्ञप्ति जारी गरी अधिवेशन स्थगित भएको भनेका थिए ।
लगत्तै धादिङ जिल्ला अध्यक्ष भूमि त्रिपाठीले अधिवेशन स्थगित नभएको बताएका थिए ।
दुई पक्षबीच विवाद बढेपछि नेताहरु अध्यक्ष ओलीसँग छलफल गर्न काठमाडौंमा आएका छन् ।