काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूले सदनमा संयमित भएर नबोलेको स्वीकार गरेका छन् ।
मंगलबार काठमाडौंमा अयोजित ‘संसद्मा केपी शर्मा ओली’ नामक पुस्तक लोकार्पण कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले सो कुरा स्वीकार गरेका हुन् ।
ओलीले आफ्ना अभिव्यक्ति कहिलेकाहीँ अनियन्त्रित हुने गरे पनि विचार प्रवाहमा भने कहीँ पनि त्रुटि नभएको दाबी गरे । उनले आफ्नो बोली पुस्तकमा आउने भन्ने भए अलि संयमित भएर बोल्ने सुनाए ।
'मैले संसद्मा बोल्दा, अन्यत्र बोल्दा देशप्रतिको, जनताप्रतिको, त्यही निष्ठाका साथ बोलेको छु । तर मैले अघि नै भनेँ अलि सावधानी साथ बोल्नुपर्ने रहेछ, होसियारीका साथ बोल्नुपर्ने रहेछ । दाहालजी (पुरुषोत्तम)ले भनेजस्तै अनकन्ट्रोल मिसाइल हान्ने हो । त्यसपाराले बोलेँ । यसको अर्थ सावधानीको कमी हो । तर, विचारमा त्रुटि होइन । मिसाइल भने ठीक ठाउँमा ताकेर हानेको छु तर एउटा हान्दा पुग्ने ठाउँमा कहिलेकहिले ५र७ वटा हानेको छु । त्यसैलाई अन्कन्ट्रोल भन्नुभएको होला ।'
कार्यक्रममा उनले ०६४ को चुनावमा आफूलाई हराएपछि पहिलो संविधानसभाबाट संविधान नबन्ने अन्तर्वार्ता दिइएको बताए । तर, संविधानसभाको १५ मिनेट बाँकी रहँदा आफ्नै अग्रसरतामा एक वर्षको अवधि थपेको दाबी गरे ।
यस्तै ओलीले लोकतन्त्रलाई नेताहरुले मागी खाने भाँडो बनाउँदा त्यसको टिकाउ नहुने गरेको स्पष्ट पारे ।