Online Nepal
  • बुधबार, १७ पुष २०८१
  • सडक स्तरोन्नति गर्दा २८ लाख बढीको भ्रष्टाचार, प्रमुख प्रशासकीय अधिकृतसहित १०जनाविरूद्ध मुद्दा

    सडक स्तरोन्नति गर्दा २८ लाख बढीको भ्रष्टाचार, प्रमुख प्रशासकीय अधिकृतसहित १०जनाविरूद्ध मुद्दा

    अनलाइन नेपाल
  • सोमबार, १५ माघ २०८०
  • 1.1K
    SHARES

    काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुगुको छायानाथ रारा नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृतसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।​​​​​​

    अख्तियारले निमित्त प्रमुख प्रशासकीय अधिकृत पिताम्बर सारूसहित इञ्जिनियर महेशसिंह कठायत, असिस्टेन्ट सव-इञ्जिनियर हस्तबहादुर मल्ल, सडक निर्माण उपभोक्ता समितिका अध्यक्ष उनबहादुर शाही, सचिव राधिका रावल र कोषाध्यक्ष बिजुली मल्लसहित १० जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो ।



    उक्त नगरपालिकाको वडा नम्बर ७ र ८ स्थित ताल्चा-सल्लेरी सडक स्तरोन्नति कार्यमा अनियमितता गरेको भन्दै भ्रष्टाचारको मुद्दा दायर गरिएको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले बताए ।



    सडक स्तरोन्नति कार्यमा मानिसबाट अर्डिनरी स्वायल, हार्ड स्वायल, सफ्ट रक, मिडियम रक र हार्ड रक कटिङ गर्नुपर्ने भनी लागत अनुमान स्वीकृत गरी अर्डिनरी स्वायलको मात्र मेसिनबाट खन्ने कार्य गराई हार्ड स्वायल, सफ्ट रक, मिडियम रक र हार्ड रक कटिङसमेत मानिसबाट गराएको पाइएको आयोगले जनाएको छ ।

    त्यसै गरी कामको बढी मूल्याङ्कन गराई नापी किताब, प्राविधिक बिल र कार्यसम्पन्न प्रतिवेदन तयार गरी २८ लाख ६२ हजार ४५९ रुपैयाँभन्दा बढी भुक्तानी गरेको अभियोग पत्रमा उल्लेख छ ।

    पिताम्बर सारू, महेशसिंह कठायत र हस्तबहादुर मल्लविरुद्ध २८ लाख ६२ हजार ४५९ रुपैयाँ बिगो कायम गरी मुद्दा दायर गरिएको आयोगले जनाएको छ ।​ त्यसैगरी आयोगले सडक निर्माण उपभोक्ता समितिका अध्यक्ष उनबहादुर शाही, सचिव राधिका रावल र कोषाध्यक्ष बिजुली मल्लविरुद्ध पनि सोही बराबरको बिगो कायम गर्दै मुद्दा दायर गरेको छ ।

    साथै, सडक निर्माण अनुगमन समितिका सदस्य चक्रबहादुर सावत, सदस्य हजरकला कामी र सोही नगरपालिका इञ्जिनियर महेशसिंह कठायतले द्विपक्षीय सम्झौता तथा प्राविधिक इस्टिमेटअनुसार कार्य सम्पन्न भएको भनी गलत अनुगमन प्रतिवेदन दिएकाले उनीहरूविरुद्ध पनि मुद्दा दायर गरिएको अख्तियारका प्रवक्ता घिमिरेले बताए ।

    यस्तै आयोगले सोही मुद्दामा नगरपालिका वडा नम्बर ८ का अध्यक्ष कर्ण रावल र वडा नम्बर ७ का तत्कालीन सदस्य पशुपति शाहीलाई पनि प्रतिवादी बनाएको छ ।

    लागत अनुमान तथा सम्झौताअनुसार कार्य सम्पन्न भएको भनी गलत सिफारिश दिई भ्रष्टाचार गरेको अभियोगमा उनीहरूविरुद्ध मुद्दा दायर गरिएको आयोगले जनाएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार