Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

स्यानेटरी प्याड खरिदमा ८ लाख भ्रष्टाचार, प्रमुख प्रशासकीय अधिकृतसहित ५ जनाविरुद्ध मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नि:शुल्क सेनिटरी प्याड खरिदमा भ्रष्टाचार गर्ने प्रशासकीय अधिकृतसहित ५ जनाविरुद्ध मुद्दा दायर गरेको छ।

अख्तियारले सप्तरीको रुपनी गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत अरविन्दकुमार चौधरी, लेखा अधिकृत श्यामसुन्दर यादव, माध्यमिक तह शिक्षक श्यामप्रसाद यादव, नायब सुब्बा सुजन दाहाल र लक्ष्मी ट्रेडर्स एण्ड सप्लायर्स राजविराज दोस्रो पक्षको तर्फबाट प्रोप्राइटर ललिताकुमारी साहविरूद्ध मुद्दा दायर गरेको हो।

उनीहरूले ८ लाख ७४ हजार ३ रुपैयाँ भ्रष्टाचार गरी सरकारलाई हानिनोक्सानी पुर्‍याएको आरोप छ। गाउँ कार्यपालिकाको मिलेमतोमा सिलबन्दी दरभाउ पत्रको माध्यमबाट खुद्रा मूल्यभन्दा दुई गुणा बढी रकममा स्यानेटरी प्याड खरिद गरेको भन्ने उजुरी अख्तियारमा परेको थियो।

उक्त उजुरीमाथि छानबिन हुँदा भ्रष्टाचार भएको पाइएको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए। आ.व. २०७७/०७८ मा सरकारले सशर्त अनुदानतर्फ सामुदायिक विद्यालयका छात्राहरूका लागि नि:शुल्क प्याड वितरणका लागि बजेट विनियोजन भएको थियो।

त्यसको खरिदका लागि पालिकाले सार्वजनिक खरिद ऐन, २०६३ र सार्वजनिक खरिद नियमावली, २०६४ नियम ११ विपरीत काम गरेको पाइएको हो।

मालसामानको लागत अनुमान तयार गर्ने तथा लागत अनुमान तयार गर्दा स्थानीय बजार प्रचलित दरभाउ समेतलाई आधारको रूपमा लिई गर्नुपर्नेमा प्रचलित कानूनी व्यवस्थाको पालना नगरेको अख्तियारले जनाएको छ।

९ लाख ११ हजार ९२५ रकम पर्ने जस्मिन हाइजिन प्रोडक्ट प्रालिको प्याडलाई १७ लाख ८५ हजार ९२८ रुपैयाँमा खरिद गरेको देखाइएको थियो।

यसरी ८ लाख ७४ हजार ३ रुपैयाँको अस्वाभाविक रूपमा रकम बढी तिरेर भ्रष्टाचार गरेको आरोप उनीहरूमाथि छ। अख्तियारले उनीहरूविरूद्ध बिगो रकम कायम गरी कैद र बिगो बमोजिमको जरिवाना माग गरेको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077