Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सन्दीप लामिछानेले तत्काल जेल बस्न नपर्ने, पुनरावेदन जाने तयारी

काठमाडौं । काठमाडौं जिल्ला अदालतबाट ८ वर्ष कैद सजाय सुनाइएका क्रिकेटर सन्दीप लामिछाने उच्च अदालत जाने भएका छन्।

अदालतको पूर्णपाठ आएपछि न्यायका लागि उच्च अदालत जाने सन्दीपका कानुन व्यवसायी सरोजकृष्ण घिमिरेले बताएका हुन्।

कानुन व्यवसायी घिमिरेले जिल्ला अदालतको पूर्णपाठ नआसम्म सन्दीप तत्काल जेल बस्न नपर्ने बताए । घिमिरेले कुनैपनि आधार, कारण र प्रमाणहरुले लामिछाने दोषी नदेखिएको जिकिर गर्दै न्यायको लागि उच्च अदालत जाने बताए ।

न्यायको माग गर्दै उच्च अदालत जाने अधिकार आफूहरुलाई सुरक्षित रहेको उनको भनाइ छ । जिल्ला अदालतको फैसलालाई आफूहरूले मान्नुपर्ने बाध्यता भएकाले कम सजायको माग गर्दै सजाय निर्धारण सम्बन्धी बहसमा आफूहरूले भाग लिएको कानुन व्यवसायी घिमिरेको भनाइ छ ।

लामिछानेको व्यक्तित्व, उनले खेल जगतमा पारेको एउटा प्रभाव र उनका असल चरित्रलाई हेरेर र उनको सामाजिक दायित्वलाई हेरेर न्यूनतम सजाय हुनुपर्ने माग आफूहरूको रहेको उनले बताए ।

उनले लामिछाने आफैँले पनि आफू निर्दोष रहेको दलिल पेश गरिरहेकाले न्यायको माग गर्दै उच्च अदालत जाने अधिकार आफूहरुलाई सुरक्षित रहेको तर्कसमेत गरे।

गत पुस १३ गते बलात्कार मुद्दामा दोषी ठहर भएका उनलाई अदालतले बुधबार ८ वर्ष कैद र तीन लाख जरिवाना र दुई लाख पीडितलाई क्षतिपूर्ति भराउने निर्णय गरेको छ ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको इजलासले लामिछानेलाई बलात्कारको मुद्दामा दोषी ठहर गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077