ओखलढुंगा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धनले साम्प्रदायिकताको पक्षलाई भित्रभित्र बढावा दिइरहेको बताएका छन् ।
मध्यपहाडी यात्राको क्रममा ओखलढुंगाको हर्कपुरमा आयोजित आमसभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् ।
अध्यक्ष ओलीले भने,‘कोही पनि दाजुभाइ दिदीबहिनीहरू अनावश्यक भावनामा बग्नु हुँदैन। राजनीतिक मतभेद हुनसक्छ। तर, त्यसलाई वैधानिक, शान्तिपूर्ण रुपमा औचत्य पुष्टि गर्नुपर्छ।’
उनले देश बनाउन बलियो राष्ट्रिय एकता, समझदारी चाहिने बताए । कोशी नाम खारेजीको माग गर्दै आफूलाई पहिचानवादी दाबी गर्ने समूहहरूले ओलीसहितका नेताहरूलाई प्रदेश प्रवेशमै रोक लगाउने बताउँदै आएका छन्।
मंगलबार मध्यपहाडी लोकमार्ग क्षेत्रमा बन्दसमेत आह्वान गरेका छन्। तिनै आन्दोलनकारीतिर लक्षित गर्दै ओलीले ‘अनावश्यक भावनामा बग्न नहुने’ बताए।
अहिलेको गठबन्धन सरकार साम्प्रदायिकताको जगमा खडा भएको आरोप लगाउँदै ओलीले एमालेले मात्रै राष्ट्रिय एकता कायम गर्ने दाबी गरे।
अध्यक्ष ओलीले देशको समस्या समाधान गर्न एकजुट भएर अघि बढ्न आग्रह गरे । उनले मिसन २०८४ एमालेको लागि नभइ देशको लागि भएको जिकिर गरे ।