पोखरा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धन सरकार एमालेको मात्रै विरोध गरेर बसेको आरोप लगाएका छन् ।
समृद्धिका लागि संकल्प यात्रा अन्तर्गत पोखराको तालचोकमा सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् ।
अध्यक्ष ओलीले सबै शक्ति लगाएर गठबन्धन मार्फत सरकार गठन भएपनि एमालेको विरोध गर्ने बाहेक अरु काम नभएको बताए।
अध्यक्ष ओलीले भने,‘भएभरका बुद्धि त अहिले गठबन्धन सरकारमा लगाएकै छ, हामी बाहेक सबै एकजुट भएर लागेकै छन्। उनीहरुको काम भनेको एमालेको विरोध गर्ने हो, खेदो खन्ने हो । विकास निर्माण होइन, जनतासँग सरोकार छैन, राष्ट्रियताको पक्षमा उनीहरु शिर निहुर्याउछन् ।’
एमाले मात्रै देश बनाउने शक्ति भएको अध्यक्ष ओलीको दाबी छ । देशको ओरालो गतिलाई सुधार्न एमालेले बहुमतको सरकार चलाउनुपर्ने अध्यक्ष ओलीले बताए ।
उनले अहिलेको अवस्थामा सुधार ल्याउन एमालेको एकल बहुमत आवश्यक परेको बताए । एमालेलाई बहुमत दिलाउन सबै जनता सचेत, संगठित र आन्दोलित हुनुपर्ने उनको भनाई छ ।