काठमाडौं । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसकारण सोमबार देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली तथा बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ ।
आज बिहान सुदूरपश्चिम र कर्णाली प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहेको छ । बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
दिउँसो देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहनेछ । बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । विभागले सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशको पहाडी भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको जनाएको छ ।
सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । आज राति देशको पहाडी भू–भागमा आंशिक बदली रहनेछ । बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ ।